Listen LIVE

बाँकेको दशगजा क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

नेपालगञ्ज : बाँके जिल्लास्थित नेपाल भारत सीमानामा शान्ति सुरक्षा बलियो पार्नुका साथै अवैध आयात निर्यात र अपराधिक गतिविधि रोक्न प्रहरीले संयुक्त सुरक्षा गस्ती सुरु गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपाल भारत सीमानामा अवैध चोरी पैठारी नियन्त्रण गर्न तथा शान्ति सुरक्षाको अवस्था थप सुदृढ बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षा गस्ती सुरु गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले सीमानाबाट हुने अवैध गतिविधिहरु नियन्त्रण गर्नुका साथै सीमावासीलाई शान्ति सुरक्षाको अनुभुति गराउने उद्देश्यले नेपाल भारत सीमानाको दसगजा क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त गस्ती सुरु गरिएको बताए । उनले सो गस्तीबाट नाकामा अवैध आयात निर्यात गर्ने र अन्य विभिन्न अपराधिक गतिविधि गर्नेहरुमा कानुनको डर त्रास उत्पन्न भइ त्यस्ता गतिविधि घट्ने बताए । 

संयुक्त गस्ती टोलीले बाँकेस्थित नेपाल भारत सीमानाको सबै क्षेत्रमा पुगेर गस्ती गर्ने जनाउँदै बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले सो प्रकारको गस्ती सीमानामा मात्र नभई अन्य क्षेत्रमा पनि सुरु गरिएकाउ उल्लेख गरे । उनले दुई वटा सुरक्षा संगठनले मिलेर संयुक्त गस्तीसँगै सीमाना र अन्य स्थानको निगरानी गर्दा अपराधिक गतिविधि कम हुने विश्वास व्यक्त गरे । 

पछिल्लो समयमा आएर सीमापारीबाट ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर नेपालतर्फ भित्रिरहेकोले यो संयुक्त गस्तीले लागु औषध ओसारपसारमा पनि नियन्त्रण हुने विश्वास गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले बताए । 

खुला सीमानाका कारण अवैध आयात निर्यात र लागु औषधको ओसार पसार रोक्न प्रहरीलाई ठुलो चुनौती बनेको समयमा सुरु गरिएको यस्तो प्रकारको संयुक्त गस्तीले सो रोक्न अहम भूमिका खेल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया