Listen LIVE

‘नाकामा रहेका अधिकारीहरुले जिम्मेवारीपूर्वक काम नगर्दा समस्या’

नेपालगञ्ज : बाँके र बर्दिया जिल्लाका पशुपन्छी तथा माछा व्यवसायीले नाकामा रहेका अधिकारीहरुले जिम्मेवारीपूर्वक काम नगर्दा आफूहरु मर्कामा परेको बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले नेपालगञ्जामा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया गोष्ठीमा यी दुई जिल्लाका व्यवसायीले कृषिमन्त्री दिनेश पन्थीकै अगाडि नाकामा रहेका सरकारी अधिकारीले जिम्मेवारीपूर्वक काम नगर्दा तस्करी बढेको र त्यसले आफूहरु मारमा परेको बताए ।

दूध व्यवसायी इन्द्रप्रसाद लुइटेलले भारतबाट विना रोकतोक आउने गुणस्तरहीन दूधका कारण नेपाली किसान मारमा परेको बताए । उनले भारतबाट खुल्लेयाम गुणस्तरहीन दूध भित्रिरहदा नाकामा रहेका सुरक्षा निकाय, क्वारेन्टाइनका अधिकारीले नदेखेजस्तो गरिरहेको आरोप लगाए । उनले भारतबाट दैनिक दश हजार लिटर दूध भित्रिदा नेपाली किसानले उत्पादन गरेको दूध बिक्री नभइरहेको बताए ।

भारतबाट फ्याट र ल्याक्टो बढाउने केमिकल हालेको दूध भित्रिरहेको बताउदै दुग्ध उत्पादन केन्द्रीय संघका केन्द्रीय सदस्यसमेत रहेका लुइटेलले नाकामा रहेका कर्मचारीले इमान्दारीपूर्वक काम नगर्दासम्म नेपाली किसानको भलाई नहुने दोहोर्याए । उनले बाँके र बर्दियामा ५० हजार लिटर दूध उत्पादन भइरहेको र दुग्ध विकास संस्थान (डीडीसी) ले समेत खरिद गर्न इन्कार गर्दा किसान मर्कामा परेको बताए ।

माछा व्यवसायी झविन्द्रप्रसाद लुइटेलले भारतबाट खाना अयोग्य माछा भित्रिरहदा सम्बन्धित अधिकारीले रोक्न नसकेको बताए । उनले प्रतिबन्धित मंगुर जातको माछा भारतबाट आएर नेपाली बजारमा बिक्री भइरहेको उदाहरण दिदै लास नगन्हाओस् भनेर राख्ने केमिकल माछामा राखेर ल्याउदासमेत निगरानी नभएको बताए ।

मासु व्यवसायी प्रेमराज सुवेदीले बाँके र बर्दियामा ९० प्रतिशत किसान हुँदा पनि अझै मासु, अण्डामा आत्मनिर्भर हुन नसकेको बताए ।

कार्यक्रममा धेरै व्यवसायीले भारतबाट हुने अवैध कारोबार रोक्न सकेमात्रै नेपाली किसानले फाइदा लिन सक्ने बताए । बर्दियामा एक जना माछा व्यवसायीबाट १२ वटा मोटरसाइकल बरामद गरेको उदाहरण दिदै व्यवसायीले तस्करले जति सवारी साधन प्रयोग गर्न सक्ने र अधिकारीहरुले मान्छेलाई समातेर कडा कारबाही गर्न नसक्दा उसको धन्दा चलिरहेको टिप्पणी गरे ।

व्यवसायीको कुरा सुनेपछि कृषिमन्त्री पन्थीले राज्यका अधिकारी, व्यवसायी र नागरिकका बीचमा सहकार्य गरेर अगाडि बढ्दा गलत काम गर्नेलाई निरुत्साहित गर्न सकिने बताए । उनले हरेक व्यक्तिले इमान्दार भएर आफ्नो जिम्मेवारी पूरा गर्दा धेरै हदसम्म गलत काम रोकिने बताए ।

कार्यक्रममा भन्सार प्रमुख जनार्दन पौडेल, क्वारेन्टाइन प्रमुख डा. राजकुमार थारु, सशस्त्र प्रहरी प्रमुख एसपी शोभाकान्त खनालले व्यवसायीलाई मिलेर काम गर्न र सूचनाहरु सहयोग गर्न आग्रह गरे । यी अधिकारीको कुरा सुनेपछि केही व्यवसायीले सूचना दिने वित्तिकै उता सूचना पुर्याइदिने गरेको तितो पोखे ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. प्रवेशसिंह कुँवरका अनुसार, लुम्बिनीमा ९ लाख गाई, १० लाख भैसी, २६ लाख बाख्रा, २ लाख ५५ हजार बंगुर, ६९ लाख कुुखुरा, २ लाख हाँस रहेको जानकारी दिए । यो प्रदेशमा ५ लाख टन दूध उत्पादन हुने गरेको छ । जसमा ६० प्रतिशत भैसीको र ४० प्रतिशत गाईको दूध छ । ९६ हजार मेट्रिक टन मासु उत्पादन हुने गर्दछ । २३ करोड अण्डा उत्पादन हुन्छ ।

प्रतिक्रिया