नेपालगञ्ज : बालबालिकाको पढ्ने बानीको विकास, विद्यालयमा नियमित उपस्थिति प्रोत्साहन गर्ने र सिकाइ उपलब्धिमा सुधार ल्याउने उद्देश्यले बर्दिया जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री तथा पढाई कुना सामग्री वितरण गरिएको छ ।
बर्दियाको मधुबन नगरपालिका र राजापुर नगरपालिकाको समन्वयमा तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले सिमा क्षेत्रका १० विद्यालयका अति गरिब, विपन्न, दलित, पछाडि पारिएका समूह तथा प्लान प्रायोजित परिवारका ६० जना बालबालिकालाई शैक्षिक सामग्री र ३० जना बालबालिकालाई पढाई कुना निर्माणका सामग्री वितरण गरेको हो ।
परियोजना संयोजक ईश्वर बिकका अनुसार विद्यालयको सिफारिसमा सामग्री वितरण गरिएको हो । उनले भने, “सामग्री वितरणले बालबालिकाको सिकाइमा सुधार ल्याउने विश्वास लिएका छौं । आगामी दिनमा पनि यस अभियानलाई निरन्तरता दिनेछौं ।”
त्यसैगरी भेरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवप्रसाद कोइरालाले कार्यक्रममा बोल्दै शैक्षिक सामग्री तथा पढाइ कुना सहयोगले बालबालिकामा पढाइ प्रतिको रुचि वृद्धि हुनुका साथै घरमै नियमित पढ्ने बानी विकास हुने बताए । उनले विद्यालयले पनि यसलाई निरन्तरताका लागि योजना बनाएर नियमित अनुगमन गर्ने बताए ।
सामग्री वितरण कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । सामग्री वितरण कार्यक्रममा परियोजना संयोजक ईश्वर बिक, फिल्ड सुपरभाइजर सावित्रा भाट र प्रमिषा थारुले सहयोग गरेका थिए ।
मानव बेचबिखन तथा बाल बेचबिखन नियन्त्रण गर्ने उद्देश्यले सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत विद्यालयलाई सुरक्षित, समावेशी र लैङ्गिक मैत्री बनाउनका लागि विभिन्न सचेतना कार्यक्रम, अभिमुखीकरण, अन्तरक्रिया, गोष्ठी तथा तालिमहरु सञ्चालन गर्दै आएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्धिकीले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार