Listen LIVE

बिद्यालयलाई लैंगिकमैत्री र अपांगतामैत्री बनाउन आवश्यक छ : पूर्वमन्त्री नमुना

बर्दिया : बाँके युनेस्को क्लबले बर्दियाका दुई वटा पालिकाका शिक्षकहरुका लागि सञ्चालन गरेको लैंगिक रुपान्तरित समावेशी शिक्षण विधि र कक्षा कोठा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरेको हो । 

तीन दिनसम्म सञ्चालन भएको सो तालिमको समापन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले बिद्यालयलाई लैंगिकमैत्री र अपांगतामैत्री बनाउन तथा मानव बेचबिखन विरुद्ध सचेतना बढाउन यस्ता तालिमले अहम भूमिका निर्वाह गर्ने बताइन् । 

उनले बाँके युनेस्को क्लब र प्लान नेपालले स्थानीय सरकारहरूलाई यस्ता विषयमा जागरूक बनाउने र सहयोग गर्ने कार्य गर्दै आएकोमा सराहना गरिन् ।

प्रदेशस्तरमा नीति निर्माण र बजेट विनियोजनको लागि आफुले निरन्तर वकालत गर्ने प्रतिबद्धता पनि पूर्वमन्त्री केसीले गरिन् । 

राजापुर नगरपालिकाकी उपमेयर मनकला कुमारी चौधरीले मानव बेचबिखन रोक्न बाँके युनेस्को क्लब र अन्य संस्थाहरूसँग मिलेर निरन्तर रुपमा काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै सो उद्देश्यका लागि संयन्त्रहरूलाई सुदृढ पार्ने, आवश्यक नीतिहरू बनाउने र बजेट विनियोजन गर्ने बताइन् । 

तालिम समापन कार्यक्रमका अध्यक्ष राजापुर नगरपालिकाका मेयर दिपेश थारुले मानव बेचबिखन रोक्न सक्रिय रूपमा काम गर्दै सुरक्षित, समावेशी र बालमैत्री विद्यालयहरू सञ्चालन गर्न नगरपालिकाले सधैं सहयोग र सहकार्य गरिराख्ने बताए । 

उनले मानव बेचबिखन एक महत्वपूर्ण समस्या भएको जनाउँदै यसलाई रोक्न र सम्बोधन गर्ने सामूहिक जिम्मेवारीमा पनि जोड दिए । सामाजिक परिवर्तन र रूपान्तरणकालागि राजापुर नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग साझेदारी गरेर अगाडी बढ्ने निति बनाएको मेयर थारुले बताए । 

बर्दियाको मधुवन र राजापुर नगरपालिकाका १० वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको सो तालिमका सहभागिहरुले तालिमले शिक्षकहरूको समावेशी शिक्षण विधि निर्माण र कक्षा कोठा व्यवस्थापनका लागि क्षमता वृद्धि गरेको जनाउँदै मानव बेचबिखन विरुद्धको लडाईमा परिवर्तनका संवाहकको रूपमा रहेका युवा दूतहरूलाई सशक्त बनाएको प्रतिक्रिया दिएका थिए । 

तालिमको समापन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष विदुर पोखरेल, प्रशासन इकाईका प्रमुख आनन्द प्रसाद जैसी, बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी,  परियोजना संयोजक महेश नेपाली, बाँके युनेस्को क्लबका मूल्यांकन अधिकृत जनकराम थारु र फिल्ड सुपरभाइजर परमिशा थारुको पनि उपस्थिति रहेको थियो । 

सो तालिमको प्रशिक्षकमा नीलकण्ठ रेग्मी र बसन्त कुमार बिसी रहेका थिए ।

प्रतिक्रिया