नेपालगञ्ज : महिलाको महान् पर्व तीज आउनुअघि नै अधिकांश महिला सम्बद्ध सङ्घ संस्थाहरूले ठुला होटलमा दर खाने नाममा पार्टी गरेर लाखौँ रुपैयाँ खर्च गरिरहेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महिला सदस्यले तीज मनाउन लाग्ने खर्च कटाएर स्वास्थ्य समस्यामा परेका एक व्यवसायी महिलालाई आर्थिक सहयोग गरेका छन् ।
सङ्घका अध्यक्ष टङ्कबहादुर धामी नेतृत्वको पदाधिकारी र सदस्य सम्मिलित टोलीले बिरामी कृष्णा शाहीलाई तीज खर्च कटाएर बाँकी रहेको ७६ हजार ३०० रुपैयाँ सहयोग प्रदान गरेको हो ।
नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र कृष्णा चमेना गृह सञ्चालन गरिरहेकी शाही एपेन्डिसाइटिसको इन्फेक्सनबाट गम्भीर प्रकृतिको बिरामी भएकी छन् । लामो समयदेखि उपचार गराउनु परेकाले उनको उपचारमा आर्थिक समस्या भएपछि तीजको खर्च कटाएर उनलाई सहयोग गरिएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महिला उपाध्यक्ष मन्दिरा पाण्डेले बताइन् ।
उनले सङ्घको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ५१ हजार रुपैयाँ र कार्य समिति पदाधिकारी र सदस्यबाट सङ्कलन गरेको २५ हजार ३०० रुपैयाँ औद्योगिक क्षेत्रभित्र रहेको निवासमै पुगेर शाहीका पतिलाई रकम हस्तान्तरण गरिएको बताइन् ।
यसअघि सङ्घले महिला उपाध्यक्ष पाण्डेको संयोजकत्वमा शाहीका लागि सहयोग सङ्कलन गर्न इन्दिरा शाही र उमा ग्राण्डन सदस्य रहेको समिति गठन गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा सङ्घका अध्यक्ष टङ्क धामीसँगै महिला उपाध्यक्ष पाण्डे, महासचिव भीमबहादुर रानाभाट, उपमहासचिव टेकबहादुर खड्का, कोषाध्यक्ष मक्खन धामी, प्रवक्ता डम्बरबहादुर चन्द, सदस्यहरू इन्दिरा शाही, शिव दाहाल, राजीव तलंगा र सुदन केसीको सहभागिता थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार