Listen LIVE

सामान्य बन्दै बाँकेको जनजिवन

नेपालगञ्ज : दुर्गामुर्ती विसर्जन गर्न जाने क्रममा भएको विवादले अशान्त बनेको बाँकेको अवस्था सामान्य बन्दै गएको छ । विवाद समाधान भएपछि बाँकेको अवस्था शान्त भएको हो ।

१७ असोजमा दुर्गामुर्ती विर्सजन गर्न गइरहेका बेला हिन्दु र मुस्लिम समुदाय विच विवाद भएपछि स्थिति असहज बनेको थियो । बाँकेका सुरक्षा अधिकारीको सक्रियतामा विवाद समाधान भएपछि नेपालगञ्जको अवस्था सामान्य बनेको छ । ‘बाँकेको अवस्था सामान्य भएको छ । नेपालगञ्जमा दुई समुदाय विच भएका सवै विवाद समाधान भएका छन्,’ बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, ‘नेपालगञ्जको अवस्था पहिलेको अवस्थामा फर्किएको छ ।’

१७ असोजको दिउँसो वडा दसैँको अन्तिम दिन देवी विसर्जन गर्न जाने क्रममा नेपालगन्जका विभिन्न स्थानमा दुई समुदाय बीच सामान्य झडप भएको बताउँदै उनले अव कुनै समस्या नभएको बताए । ‘अहिले स्थिति सामान्य बनेको छ। विवादका क्रममा केही मानिसलाई पक्राउ गरिएको छ । कुनै विवाद मिलापत्र गरेर समाधान गरिएको छ,’ प्रजिअ जोशीले भने ।

केही उपद्र मानसिकता भएका ब्यक्तिका कारण घटना घटेको बाँके प्रहरी प्रमुख अंगुर जिसीले बताए । विवाद उत्पन्न भएपछि स्थित नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरि स्थिति सामान्य बनाएको उनको भनाई छ । ‘केही स्थानमा झडप हुँदा केही प्रहरी र सर्वसाधारण घाइते भए पनि गम्भीर क्षति हुन पाएन,’ उनले भने, ‘विभिन्न धर्मका धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीविको सहयोगमा विवादले उग्ररुप लिन पाएन । सहयोग गर्ने सवैलाई धन्यवाद ।’

देवी विसर्जनको क्रममा नेपालगञ्जमा हुने घटनालाई मध्यनजर गरि विगतमा भन्दा धेरै प्रहरी परिचालन गरिएको उनले बताए । ‘विगतका वर्षभन्दा यस पटक धेरै प्रहरी परिचालन गरी तत्कालै एक्सन लिएका कारण ठूलो दुर्घटना हुन पाएन,’ एसपी जिसीले भने।

गत शनिबार प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएको थियो । बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी र हिन्दु–मुस्लिम धर्मका अगुवाहरू सहभागी थिए। बैठकले शुक्रबारको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने तथा त्यसका लागि दुवै समुदायका अगुवाहरूले सहयोग गर्ने सहमति जनाएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

विवाद बढ्दै गएपछि बाँके प्रशासनले जिल्लाको तीन वटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । ‘पछिल्लो समय बाँकेमा कहिँकतै असज छैन । निर्धक्क भएर काम गर्न तथा हिड्डुल गर्नु हुन अनुरोध छ,’ प्रजिअ जोशीले भने ।

प्रतिक्रिया