नेपालगञ्ज : जेनजी आन्दोलनको क्रममा बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३४० जना कैदीबन्दीमध्ये २१७ जना अझै सम्पर्कमा आएका छैनन् ।
भागेकामध्ये हालसम्म १२३ जना मात्रै पक्राउ परेको कारागार र बालसुधारगृहले जनाएका छन् ।
बाँकेको नौबस्ता बालसुधार गृहका ४५ जना, नौबस्ता क्षेत्रीय कारगारका १०४ जना र जयेन्दु बालसुधार गृहका ६८ जना कैदीबन्दी अझै फरार छन् । डुडुवास्थित जयेन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माले सुधारगृहमा रहेका २२८ जना बालबन्दीमध्ये ११५ जना भागेकोमा ४७ जना पक्राउ परेको र ६८ जनाको खोजी भइरहेको बताए ।
नौबस्ता बाल सुधारगृहका प्रमुख श्याम बहादुर रानाले सुधारगृहमा रहेका १७६ जना बालबन्दीमध्ये प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको र ७८ जना भागेकोमा हालसम्म ३३ जना पक्राउ परेको र ४५ जनाको खोजी भइरहेको बताए ।
यसैगरि नौबस्ताकै क्षेत्रीय कारागारबाट फरार भएका १४७ जना कैदीमध्ये ४३ जना पक्राउ परेको तथा १०४ जनाको खोजी भइरहेको सो कारागारका प्रमुख जालन्धर भुषालले बताए । उक्त कारागारमा ५८५ जना कैदीहरु रहेका थिए ।
फरार रहेका २१७ जना कैदी बन्दीहरुको खोजी कार्य कार्यादलमार्फत भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसअघि सरकारले असोज २० गतेसम्म फर्किन कैदीहरुलाई समयसीमा दिएको थियो । तर, सो समयसीमा समाप्त हुँदासमेत धेरै कैदीबन्दीहरु फर्किएका छैनन् ।
भारतीय कैदी बन्दीहरु भारतमा भागेको प्रहरीले जनाएको छ भने अन्यको खोजी भइरहेकोले सबैलाई पक्राउ गरेर कारागारमा राखिने बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार