Listen LIVE

मधुवनमा युथ मिटअप कार्यक्रम सम्पन्न

नेपालगञ्ज : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको मधुवन १ मा दुई–दिने युवा भेटघाट–परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

बालिका शसक्त परियोजनाअन्तर्गत सम्पन्न गरिएको सो कार्यक्रमको उद्देश्य युवाको विकासमा प्रभाव पार्ने प्रमुख मुद्दाहरू पहिचान गर्ने, समाधानमुखी संवाद प्रोत्साहन गर्ने तथा समुदायमा आधारित सामूहिक कार्यनीति निर्माण गर्ने रहेको थियो बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए । 

उनले कार्यक्रममा युवाहरूलाई उनका अधिकार, जिम्मेवारी, स्थानीय सरकारका सेवा तथा पहुँच बारे जानकारी गराउँदै, समुदायमा प्रचलित हानिकारक सामाजिक प्रथाहरू तथा लागुऔषध दुरुपयोग घटाउनेतर्फ सक्रिय सहभागिता बढाउने रहेको पनि बताए । 

कार्यक्रममा मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले युवाहरू तथा किशोरी क्लबका सदस्यहरूबीच सहयोग, समन्वय र सामूहिक विकास अपरिहार्य रहेको बताउँदै, यस्तो कार्यक्रमले युवामा नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न टेवा पुग्ने उल्लेख गरे ।

सो अवसरमा बाँके युनेस्को क्लबका उप–निर्देशक गोविन्द प्रसाद लामिछानेले परियोजनाका उद्देश्यहरूबारे जानकारी दिँदै बालअधिकार र विकासका क्षेत्रमा आफूले विगतमा प्राप्त गरेको अनुभव साझा गरे । उनले जिल्लास्तरीय बालविवाह मुक्त घोषणा र त्यसमा स्थानीय तह तथा वडा कार्यालयहरूसँग प्रभावकारी समन्वय आवश्यक रहेकोमा विशेष जोड दिए ।

सो कार्यक्रममा बर्दियाको मधुवन नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका किशोरी क्लब तथा युवा समूहका ३० जना सदस्यहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण कुसुम केसीले गरेकी थिइन् भने सञ्चालन विजय शर्माले गरेका थिए ।

प्रतिक्रिया