Listen LIVE

कोहलपुरमा महिलाका लागि सुविधा सम्पन्न अस्पताल खुल्यो

नेपालगञ्ज : स्वास्थ हब बन्दै गएको बाँके जिल्लामा नयाँ नयाँ अत्याधुनिक अस्पताल खुल्ने क्रम जारी रहेको छ । सोही क्रममा जिल्लाको कोहलपुरमा १५ शय्याको महिला डेडिकेटेड एच एन्ड एच अस्पतालले अत्याधुनिक सुविधासहित सेवा शुरु गरेको छ ।

यसक्षेत्रकै चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा सञ्चालनमा ल्याइएको सो अस्पतालले यसक्षेत्रका महिलाहरूको स्वास्थ्यमा सहज, सरल, छिटोछरितो र गुणस्तरीय सेवा प्रवाह गर्ने जनाइएको छ ।

कोहलपुर नगरपालिका–११ मा स्थापना भएको सो अस्पतालले महिलासँगै अन्य स्वास्थ्य सेवा समेत प्रवाह गर्ने भएकाले यहाँका नागरिकहरूको स्वास्थ्यमा सहज पहुँच हुने डा.विसीको भनाइ छ ।

अस्पतालमा २४ सैं घण्टा इमरजेन्जी सेवासँगै ओपिडी, आइसियू, एनआइसियू, एचडियू, कम्प्रेन्सिभ मेटिनेटी केयर, मोर्डन अप्रेसन थियटर, आफ्नै फार्मेसी लगायतको सेवा सुविधा रहेको छ ।

सो अस्पतालमा डा.विसीसँगै युरोलोजिस्ट डा.नरेशमान श्रेष्ठ, अर्थोपेडिक सर्जन डा.प्रतिक कार्की, ग्यास्ट्रोइन्टेरोलोजी सर्जन डा. प्रदीप थापा, बालरोग विशेषज्ञ डा. विवेक शाह र डा. सन्जय रिसाल लगायतले सेवा दिनेछन् ।

कोहलपुरमा अत्याधुनिक एच.एन्ड.एच अस्पताल खुलेसँगै स्वास्थ्य क्षेत्रमा नागरिकहरूले थप सहज सेवा पाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया