Listen LIVE

कार्यकारी निर्देशक घिसिङद्वारा विद्युत आयोजनाको निरीक्षण

नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकेमा सञ्चालनमा रहेका र निर्माणाधीन विभिन्न विद्युत सम्बन्धी आयोजनाको स्थलगत निरीक्षण अनुगमन गरेका छन् । 

एक कार्यक्रमका लागि नेपालगञ्जमा आएका कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुरमा निर्माण गरेर सञ्चालनमा ल्याएको ट्रान्सफर्मर वर्कशप लगायत अन्य आयोजनाको निरीक्षण गरेका हुन् । 

लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख राजीवकुमार सिंहका अनुसार कार्यकारी निर्देशक घिसिङले प्रदेश डिभिजन कार्यालयअन्तर्गतका बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुम र प्युठानमा बिग्रिएका ट्रान्सफर्मर मर्मत सम्भारका लागि कोहलपुरमा निर्माण गरिएको ट्रान्सफर्मर वर्कशपको विस्तृतरुपमा निरीक्षण अनुगमन गरे । 

उनले आफू नेपालगञ्जमा आएपछि कोहलपुरमा ट्रान्सफर्मर वर्कशपको निर्माण गरेर सञ्चालनमा ल्याएको जनाउँदै अहिले डिभिजन कार्यालयअन्तर्गतका ६ जिल्ला मात्र नभई कर्णाली प्रदेशका ट्रान्सफर्मर कोहलपुरमै मर्मत सम्भार भइरहेको बताए । 

कार्यकारी निर्देशक घिसिङले कोहलपुर ग्रिड, बाँकेको जानकी गाउँपालिका ५ बकसपुरमा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रहेको १३२–३३ केभी सबस्टेशनको निर्माणस्थलको स्थलगत निरीक्षण अनुगमन गरे । 

अनुगमनका क्रममा उनले आयोजनाको काममा तीव्रता दिन निर्देशन दिए । उनले सो अवसरमा जनतालाई गुणस्तरीय विद्युत सप्लाई गर्ने कुरामा विशेष ध्यान दिन निर्देशन दिए ।

प्रतिक्रिया