Listen LIVE

क्रियटिभ ह्याण्ड्सद्वारा दानवीर लिलबहादुरलाई सम्मान

नेपालगञ्ज : पन्ध्र बर्षदेखि अमेरिकामा कमाएको सम्पत्तिले नेपालमा विपन्न घर परिवारलाई सहयोग गर्दै आएका बाँकेको खजुरा गाउँपालिका –४ का लिलबहादुर थापालाई सम्मान गरिएको छ । 

सत्र बर्षअघि डिभी परेर ३३ बर्षको उमेरमा अमेरिका पुग्नुभएका थापाको कमाइको अधिकांश हिस्सा विपन्न समुदायका ब्यक्तिको सहयोगमा खर्च हुने गरेको छ । अमेरिकाबाट छोटो समयका लागि नेपाल फर्किएका अधिकांशको आफन्त र परिवारका सदस्यसँगको भेटघाटमा समय बित्ने गरे पनि दुई साताअघि अमेरिकाबाट नेपाल फर्किएका थापाको दैनिकी भने विपन्न घर परिवारमा पुगेर सहयोग हस्तान्तरणमा बित्ने गरेको छ ।

नेपालगञ्ज म्याराथनको प्रचार–प्रसारका लागि बिहीवार राति आयोजना गरिएको रात्रिकालीन दौडको अवसर पारेर थापालाई समाज सेवामार्फत समाजमा महत्वपूर्ण योगदान गरेको भन्दै आयोजक क्रियटिभ ह्याण्ड्सले सम्मान गरेको अध्यक्ष टिएस ठकुरीले बताए ।

थापालाई नेपालगञ्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्ट, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदान गोतम, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायतले सम्मान गरे । थापालाई उनको जन्मस्थान खजुरा गाउँपालिकामा पनि विभिन्न सङ्घ संस्थाले सम्मान गरेका छन् । 

सम्मानपछि आफुले समाजका लागि थोरै भए पनि योगदान गर्न सकेको अनुभूति भएको थापाले बताए । उनले भने, ‘भगवानको कृपाले आफूले जम्मा गरेको रकमबाट विपन्न परिवारलाई सहयोग गर्न पाएकोमा खुशी दिएको छ, यसले भविष्यमा पनि मलाई यसरी नै समाजसेवामा लाग्न प्रेरणा मिल्नेछ ।’  

अमेरिकामा कमाएकोमध्ये करिब १० करोड रुपैयाँ उनले यसरी नै विपन्न समुदायका ब्यक्तिलाई सहयोग गरेर खर्च गरेका छन् । उनले बिपन्न परिवारका लागि आवश्यक घर बनाउनेदेखि लत्ताकपडा, खाद्यान्न र शैक्षिक सामग्री सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया