Listen LIVE

पूर्वमन्त्री राईको योजना आलटाल, नेपालगञ्जको ट्राफिक लाइट बेवारिसे

नेपालगञ्ज : नेपालगञ्जमा बढ्दो सवारी चापबाट हुने सडक जामलाई व्यवस्थित गर्न एक वर्षअघि मुख्य चोकमा ट्राफिक लाइट जडान गरियो । ट्राफिक लाइट जडान भएको केहि दिन परीक्षण समेत गरियो । पूर्व भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा सडक डिभिजन कार्यालय, नेपालगञ्जले उक्त ट्राफिक लाइट जडान गरेको हो । तर, लाखौँ रुपैयाँ खर्च गरेर जडान भई परीक्षण समेत भइसकेको उक्त ट्राफिक लाइट अहिले बेवारिसे जस्तै छ ।

सडक डिभिजन कार्यालयले उक्त ट्राफिक लाइट नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको मातहतमा रहेको ट्राफिक लाइटलाई आवश्यक पर्ने विद्युत समेत उपमहानगरले ब्यवस्था गरेको हो । ट्राफिक लाइट सञ्चालनमा नल्याउँदा सर्वसाधारणले सास्ती खेप्न परेको छ । तीव्र गतिमा हुइकिने सवारी साधन चोकमा समेत गति कम नगर्दा दुर्घटना हुने सम्भावना बढेको छ ।

नेपालगञ्जका मुख्य चोक पुष्पलाल चोक, धम्बोझी, विपी र गणेशमान चोकमा ट्राफिक लाइट जडान भएको छ । पैदलयात्रुलाई सडक वारपार गर्न सहज होवस भन्ने उद्देश्यले जेब्राक्रसको संकेत समेत बनाइएको छ । तर, सवारी चालकले तीव्र गतिमा गाडी चलाउँदा पैदल यात्रुलाई जोखिम मोलेर सडक वारपार गर्न परेको छ ।

नेपालगञ्जका मुख्य चोकमा जोखिम मोलेर सडक वारपार गर्न परेको राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरकी रुमा क्षेत्रीले बताइन् । धम्बोझी चोकमा सडक पार गरेपछि उनले राहत महशुस गरिन् । उनले भनिन्, ‘सडक वारपार गर्न साह्रै गाह्रो छ । जेब्राक्रस भए पनि सवारी चालकलाई यसको बारेमा जानकारी नभएको जस्तो लाग्छ । जेब्राक्रसमा समेत तीव्र गतिमा सवारी साधन चलाउँदा ठोकिने हो की भन्ने डर लाग्छ,’ उनले भनिन्, ‘ट्राफिक लाइट हुँदाहुँदै पनि जोखिम मोलेर सडक वारपार गर्न परेको छ ।’

सडक वारपार गर्ने मध्ये बालबालिका, जेष्ठ नागरिक र महिला सवैभन्दा जोखिममा छन् । तीव्र गतिमा आएका सवारी साधनले किच्ने हो की भन्ने डरैडरमा यो समुहका वर्गलाई हुने गरेको छ । ‘सडक पार गरेपछि एउटा युद्ध जितेको जस्तो गर्व लाग्छ,’ खजुरा गाउँपालिका १ राधापुरका ६५ वर्षीया निरमाया थापाले भनिन् ।

ट्राफिक लाइट जडानका लागि आवश्यक बजेटको ब्यवस्थापन गरेका पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले ट्राफिक लाइट संचालनमा ल्याए पैदल यात्रुलाई सडक वारपार गर्न सहज हुने बताए । उनले नेपालगञ्जको सवारी चापलाई मध्यनजर गरि ट्राफिक लाइटका लागि रकमको ब्यवस्था मिलाएको बताए । ‘पैदल यात्रु र सवारी दुर्घटनाबाट हुने क्षति न्यूनिकरण गर्न ट्राफिक लाइट जडान गर्न रकमको ब्यवस्था मिलाएको हुँ,’ उनले भने, ‘जडान हुने वित्तिकै संचालनमा ल्याउनुपर्ने हो, तर जडान भएको एक वर्ष वित्न लाग्दासमेत सञ्चालनमा नल्याउनु दुर्भाग्य मान्नु पर्छ ।’

प्रतिक्रिया