Listen LIVE

बाँकेको रोजगार मेलामा ९३ जनाले पाए रोजगारीको ग्यारेन्टी

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेले जिल्लाका सात स्थानीय तहसँगको सहकार्यमा आयोजना गरेको दुई दिने रोजगार मेला सम्पन्न भएको छ। मेलामा ४० रोजगारदाता कम्पनीको स्टल राखिएको थियो।

मेलामा १ हजार ४५ जनाले रोजगारीका लागि आवेदन दिएका थिए। जसमध्ये ९३ जनाले मेलास्थलमै रोजगारीको ग्यारेन्टी पाएका छन्। सात जना अपाङ्गता भएका व्यक्तिलाई नेपालगञ्जका होटलहरूले नियुक्ति पत्र दिएका छन्। ६ सय २ जनाले तालिम आवश्यक रहेको बताएका छन्, जसमध्ये १ सय २७ जनासँग सीप भए पनि प्रमाणपत्र नभएकोले तालिमको माग गरेका छन्।

मेलामा बाँकेका आठवटै स्थानीय तहका बेरोजगार युवाहरूको ठूलो सहभागिता थियो। स्थानीय तहले पनि बेरोजगारहरूको सूची बनाएर मेलामा सहभागिता गराएका थिए।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले मेलामा सहभागी बेरोजगारहरूलाई आवश्यक सीपमूलक तालिम दिएर उद्योग, व्यवसाय र औद्योगिक प्रतिष्ठानका लागि जनशक्ति उत्पादन गर्ने बताए। उनले तीनै तहका सरकारसँग सहकार्य गरेर जिल्लाका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने योजना रहेको जानकारी दिए।

प्रतिक्रिया