बर्दिया : बर्दिया जिल्लामा भएको चरा गणनामा पानी चराको सङ्ख्या बढेको छ । बर्दिया जिल्लाका विभिन्न ताल तलैया र नदीहरूमा जाडोको समयमा बसाई सरी आउने र रैथाने पानी चराको सङ्ख्या बढेको हो ।
गेरुवा नदी कर्णाली नदी र बढैया तालमा चराको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको हो । कर्णाली र गेरुवा नदिमा चराको प्रजाति वृद्धि भएपनि बढैया तालमा गत वर्षको तुलनामा यस बर्ष चराको प्रजाति घटेको छ ।
साइबेरिया लगायत विभिन्न देशबाट जाडो छल्नका लागि आउने पाहुना चराको हरेक बर्ष गणना गर्ने गरिएको छ । यस वर्षको चरा गणनामा बर्दियामा तिन हजार आठ सय ८९ ओटा जलचर भेटिएका छन् । जसमध्ये बढैया तालमा सबैभन्दा बढी दुई हजार एक सय ४९ ओटा, कर्णाली नदिमा नौ सय १८ र गेरुवा नदिमा आड सय २२ ओटा फेला परेका छन् ।
गत बर्ष २०८०को चरा गणनामा तिन हजार दुई सय चार र २०७९को चरा गणनामा दुई हजार एक सय २६ ओटा चरा गणना गरिएको थियो । अघिल्लो वर्षको तुलनामा यस बर्ष चराका प्रजाति र चराहरू बढी फेला परेको नेपाल पन्छीविद् सङ्घका केन्द्रिय सदस्य एवं चरा विज्ञ रामबहादुर शाहीले बताए ।
उनले बर्दियामा चराको बासस्थानमा समस्या हुँदा हुँदै पनि आगन्तुक चराको सङ्ख्यामा वृद्धि हुनु सुखद् रहेको बताए । बजेट अभावको कारणले बर्दिया जिल्लामा भएका अरू तालतलैयाहरुमा चरा गणना गर्न नसकिएको बताउँदै कतिपय जलचराहरु अरू ताल तलैयामा समेत फेला पर्ने गरेको बताए । सङ्घीय सरकार र स्थानीय सरकारले चरा गणनालाई व्यवस्थित बनाउनका लागि आवश्यक बजेट र कार्यक्रमको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
उनले पानीको कमी, असुरक्षित बासस्थान, आहारा प्रजातिको कमी, डिजेबाजा, र पर्यावरणमा परेको असरका कारण चराको बासस्थान सङ्कटमा पर्दै गएको बताए । उनले पछिल्लो समयमा भइरहेको विकास निर्माण वातावरण मैत्री हुन नसक्दा चराहरूको बास स्थान सङ्कटमा परेको, नदीले धार परिवर्तन गर्ने, बिजुलीका तारहरूले चराहरू सङ्कटमा पार्दै गइरहेको बताए ।
नेपालमा ८ सय ९७ प्रजातिको चरा मध्ये २ सय प्रजातिका जलपँक्षीको रहेका छन् । नेपालमा हरेक बर्ष एक सय ५३ प्रजातिका चराहरू बसाइ सरेर आउने गरेको तथ्याङ्क छ ।
बढैया तालमा ३ वटा सारस
जलपंक्षीको लागि र आगन्तुक चराको लागि प्रख्यात मानिएको बढैया तालमा हाल तिन वटा सारस फेला परेका छन् । गत वर्षको चरा गणनामा दुई ओटा सारस रहेकोमा यस बर्ष एक बच्चा सहित तिन वटा सारस फेला परेको छ ।
यस बर्ष एक बच्चा सहित तिन ओटा सारस फेला परेको पंक्षी विद् शाहीले बताए । उनले भने –‘अझ बासस्थानमा सुधार गर्ने र यसको संरक्षणको लागि सचेतना फैलाउने हो भने यसको सङ्ख्या बढाउन सकिन्छ ।’
सारसलाई विश्व मै संवेदनशील चराको सूचिमा राखिएको छ भने नेपालमा पनि संकटासन्न चराको रुपमा सारसलाई राखिएको छ ।
१० बर्षदेखि आएन सेतो भुँडी फोर
बर्दियामा केही बर्ष यता आगन्तुक चराहरूको सङ्ख्या बढेपनि प्रजातीको सङ्ख्या भने बढेको छैन । बढैया तालमा गत वर्षको तुलनामा पाँच वटा चराको प्रजाति फेला परेनन् । जलवायु परिवर्तन र बढ्दो मानवीय क्रियाकलापले गर्दा बासस्थानमा समस्या देखिएपछि कतिपय चराहरू बसाई सरेर आउन छोडेका छन् ।
बर्दिया जिल्लामा विगत १० बर्ष यता सेतो भुँडी फोर (व्हाइट स्ट्रोक) चरा बर्दिया जिल्लामा फेला परेको छैन । १० बर्ष अगाडीसम्म बर्दिया जिल्लामा भेटिने सेतो भुँडी फोर हाल देखा पर्न छोडेको पंक्षी विद्ध रामबहादुर शाहीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार