Listen LIVE

नीलो प्रेममाथि कोहलपुरमा संवाद

नेपालगञ्ज : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा चर्चित उपन्यास नीलो प्रेममाथि किताब संवाद गरिएको छ । 

पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजालले क्याम्पसमा अध्ययनरत विद्यार्थी र यस क्षेत्रका स्रष्टासँग नीलो प्रेमका अन्तर्य प्रस्तुत गर्ने र लेखकसँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । 

युवा वर्गको मनोविज्ञानलाई विषयका रूपमा समाएर लेखिएको पुस्तकमा प्रेमका अनेक आयामलाई ध्वनि सौन्दर्यका रूपमा प्रस्तुति दिने आफ्नो प्रयास सार्थक बनेको भन्दै लेखक पुरुषोत्तम बजगाईँले सहभागीले राखेका जिज्ञासा मेटाउने प्रयास गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख दानबहादुर हमालले प्रेमका अनेक रङ र आयाम हुने सन्दर्भ उपन्यासबाट बुझिने बताए । उनले वागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीको रचनात्मक क्षमता वृद्धि गर्न सधैँ प्रयासरत रहेको भन्दै नीलो प्रेमका लेखकसँगको साक्षात्कार कार्यक्रमले हौसला बढाएको बताए ।

कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, पूर्णिमाका सल्लाहकार सागर गैरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा प्रकाशक बी.एन. पुस्तकका प्रबन्धक विष्णु पौडेलसहित कोहलपुर र नेपालगन्ज आसपासका करिब पाँच सय जनाको सहभागिता थियो । संस्थाका उपाध्यक्ष डा. खोपीराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजालले गरेका थिए ।

प्रतिक्रिया