Listen LIVE

३० जना किशोरीलाई साथी सहजकर्ताको तालिम

नेपालगञ्ज : सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाइएको छ । समुदायस्तरमा किशोर किशोरीहरुको समुहलाई सचेतना अभिबृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाइएको हो । 

किशोरीहरुलाई नेपालगन्जमा १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम दिएर साथी सहजकर्ता तयार गरिएको छ । शसक्त महिला समृद्ध नेपाल परियोजना अन्र्तगत सामुदायिक विकास केन्द्र डोटी र आवाज सुर्खेतद्धारा आयोजित तालिममा कालीकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत बाजुरा, डोटी र कञ्चनपुर जिल्लाका ३० जना किशोरीहरुको सहभागिता रहेको थियो । 

तालिममा रुपान्तरणका १५ विषयबस्तुहरु मेरो संसार, आत्मजागरण, अधिकार र कर्तव्य, लैङ्गिकता र सामाजिक समाबेशीकरण, किशोरावस्था, राम्रो बानी, पोषण, नागरिक सहभागिता, प्राथमिक उपचार, प्राकृतिक स्रोतहरु, प्राकृतिक प्रकोपबाट हुने जोखिमको व्यवस्थापन, खर्च वचत, यौन तथा प्रजनन स्वास्थ्य, लैङ्गिकतामा आधारित हिंसा, लघु उद्यम विकासलगायतमा आधारित ज्ञान सिप प्रदान गरिएको युनिसेफ फिल्ड कार्यालय धनगढीका बालसंरक्षण अधिकृत प्रकाश कैनीले बताए । 

तालिम पश्चात सहभागीहरुले समुदायस्तरमा छुट्टा छुट्टै ४२ वटा सत्र सञ्चालन गर्ने परियोजना कार्यक्रम संयोजक शर्मिला पौडेलले बताइन् । उनका अनुसार दुर्गम ग्रामिण क्षेत्रका किशोर किशोरीहरुको जिवनशैली परिवर्तन गर्न यो अभियान संचालन गरिएको छ । किशोरीहरुमा विभिन्न विषयसंग सम्वन्धित ज्ञान, सिपमार्फत सचेत बनाएर उनीहरुको जिवनस्तर परिवर्तन गरिने छ । 

तालिममा मन्दिप सुरी र सरु शिल्पकारले प्रशिक्षण दिएका थिए । तालिमको समापन कार्यक्रममा युनिसेफ कर्णाली फिल्ड कार्यालयका बालसंरक्षण अधिकृत कुन्ङ्ग सन्डुप लामा, सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक हेमरज जोशीलगायतले किशोरीको विकासका लागि आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया