Listen LIVE

खजुरा गाउँपालिकाद्वारा घरघरबाट फोहर उठाउन शुरु

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले आजबाट पालिकाअन्तर्गतको बजार क्षेत्रमा घरघरबाट फोहर उठाउन शुरु गरेको छ । स्थानीय सुन्दर बिहानी युवा क्लवको सहकार्यमा पालिकाले फोहर संकलन अभियान शुरु गरेको हो ।

आज खजुरा ३ स्थित खजुरा बजारबाट फोहर उठाउने कार्यको शुभारम्भ गरिएको छ । फोहर संकलन कार्यक्रमको शुभारम्भ गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले आजबाट खजुरेली जनताले घर अगाडी फोहर जलाउने र नाला किनारमा फोहर फल्नु नपर्ने बताए । उनले स्वच्छ, सफा र हरियाली खजुरा बनाउन पालिकाले फोहर ब्यवस्थापनको अभियान थालेको बताउँदै पालिकाको अभियानमा सबैको साथ सहयोगको अपेक्षा गरे । 

आजबाट खजुराबासीले आफ्नै स्वास्थ्यलाई जोखिममा राख्दै घर आगनमा प्लास्टिक जलाउन बन्द गर्न आग्रह गर्दछु,’ उनले भने, ‘पेडारी नालामा अंध्यारो भएपछि फोहरको डुँगुर फाल्न पनि बन्द गर्नुहोला, अव घरघरमा फोहर उठाउन ट्याक्टर आउँछ ।’

फोहर ब्यवस्थापनको व्यवस्था नहुँदा खजुरामा संकलित फोहर घर आगनमा जलाउन बाध्याता रहेको थियो भने केही स्थानीयले स्थानीय नालामा रातीको समयमा फोहर फाल्ने गर्दथे । जसका कारण बजारको बीचभाग नै दुर्गन्धित बन्ने गरेको थियो ।

पालिकाले स्थानीय सुन्दर बिहानी युवा क्लवको सहकार्यमा फोहर ब्यवस्थापन गर्न थालेको हो । पालिकाको ८ वटै वडाका प्रमुख बजार क्षेत्रका फोहर उठाईने पालिकाले जनाएको छ । ७ वटा वडाका मुख्य चोकहरुमा साप्ताहिकरुपमा फोहर उठाउन ट्याक्टर पठाइने र वडा नम्बर ३ को खजुरा बजार क्षेत्रमा हरेकदिन बिहान ट्याक्टरबाट फोहर संकलन गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत बासु रानाले बताए । उनले संकलन भएको फोहरलाई जानकी गाउँपालिकाको डम्पिङ साइडमा बिसर्जन गर्ने व्यवस्था मिलाईएको जानकारी दिए ।

फोहर उठाउनका लागि स्थानीयबासीबाट न्युनतम फोहर ब्यवस्थापन शुल्क उठाइने प्रशासकीय अधिकृत रानाले बताए । खजुरा गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्ग केन्द्रित खजुरा बजारसहित सैनिक, रिमझिम चोक, सिमलघारी, मनकामना चोक, ई गाउँ चोक जस्ता मध्यम, साना र मझौला ब्यापारिक केन्द्र रहेका छन् । 

कार्यक्रमको शुभारम्भमा पालिका अध्यक्ष बिकसहित उपाध्यक्ष मन्जु मल्ल, पालिकाका कर्मचारी, सुन्दर बिहानी युवा क्लवका पदाधिकारी र इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी टोलीले खजुरा १ नम्बरदेखि धनौलीसम्मका फोहर सफाई गर्नुका साथै दुईवटा ट्याक्टरमा फोहर संकलन गरिएको थियो ।

प्रतिक्रिया