नेपालगञ्ज : नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालय कोहलपुरमा स्थानान्तरण गर्न चलखेल भइरहेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई आज संयुक्त ध्यानाकर्षणपत्र बुझाइएको छ ।
विभिन्न राजनीतिक दलका नेपालगञ्ज नगर कमिटीका अध्यक्षहरुले संयुक्तरुपमा ध्यानाकर्षणपत्र बुझाएका हुन् । कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, नेपालगञ्ज नगर कार्यवाहक सभापति धनराज बर्मा, एमाले नगर अध्यक्ष मोहित शाह, माओवादी केन्द्रका नगर अध्यक्ष रतन शाही, राप्रपाका नगर अध्यक्ष हुकुम केसी र नेकपा एस निकट युवा संघ नेपालका केन्द्रिय सदस्य विनयचन्द्र गुप्ताको संयुक्त हस्ताक्षरमा ध्यानाकर्षणपत्र बुझाइएको हो ।
नेपालगञ्जमा रहेर सेवा प्रदान गर्दै आइरहेको यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट सारेर कोहलपुर स्थानान्तरण गरिने अपुष्ट खबरले फेरि एक पटक चिन्तित बनाएको भन्दै अविलम्ब स्थायी समाधान गरी नेपालगञ्जमै खाली रहेका कुनै सरकारी भवनमै स्थानान्तरण गरी नेपालगञ्जको पहिचानलाई घट्न नदिन ध्यानाकर्षण गराइएको छ ।
“साविकको मध्यपश्चिम र सुदूरपश्चिम विकास क्षेत्रको आर्थिक एवम् प्रशासनिक केन्द्रको रुपमा रहेको नेपालगञ्जको आफ्नो बेग्लै पहिचान रहेको छ । ऐतिहासिक, सामाजिक, आर्थिक र विविध संस्कृतिक तथा सभ्यताले प्रख्यात नेपालगन्ज नगरीको आफ्नो छुट्टै पहिचान रहेको कुरा हामी सबैमा सर्वविदितै छ ।
शिक्षा, स्वास्थ्य र व्यापारको क्षेत्रमा नेपालगञ्जले विगतको मध्यपश्चिम र सुदूरपश्चिम तथा वर्तमानको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ, तर विडम्बना यस बहुपरिचित एवम् बहुआयामिक शहरको महत्व घटाउने गरी एकपछि एक षड्यन्त्र गरी पछि पार्ने काम भइरहेको छ,“ध्यानाकर्षणपत्रमा भनिएको छ–“चाहे प्रदेश राजधानीको सवाल होस् अथवा आर्थिक राजधानीको विषय होस् समग्रमा नेपालगञ्जलाई विगत केही समयदेखि पछाडि धकेल्ने काम भइरहेको छ ।
नेपालगञ्जबाट सेवा प्रदान गर्दै आएका सरकारी कार्यालयहरु एकपछि अर्को गर्दै क्रमिक रुपमा सुर्खेत, दाङ र बुटवल सरेर गएका छन् । विस्तारै नेपालगञ्जबाट सम्पूर्ण महत्वपूर्ण सरकारी कार्यालय सरेर गई उक्त कार्यालय रहेका भवनहरु खण्डरमा परिणत भइरहेका छन् ।“
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार