Listen LIVE

‘तिज पर्वले सामाजिक सद्भावलाई बलियो बनाउने सन्देश दिएको छ’

नेपालगञ्ज : नेपालगञ्जमा यस वर्षको हरितालिका तिज पर्वले सामाजिक सद्भावको नयाँ सन्देश दिएको छ ।

परम्परागत रातो पहिरन, चुरा र सिन्दूरसहित हिन्दु महिलाहरूसँगै पहिलो पटक मुस्लिम महिलाहरू पनि दर खाने कार्यक्रममा सहभागी भएका छन् । हिन्दु महिलाले दर खान राखेका परिकारहरूको स्वाद लिन मुस्लिम महिलाहरू पनि उत्साहित देखिएका  थिए । “हजुरहरू रातो–रातो लुगा लगाएर, गीत गाउँदै, श्रीमानलाई स्वागत गरेर दर खानुहुन्छ । मलाई पनि रहर लाग्यो । त्यसैले सहभागी भएँ,” नेपालगञ्ज ४ की ४० बर्सिया नाजमा हल्वाईको भनाई थियो । नाजमाले भनिन, “तिजको गीत सुन्दा मन नै भरिन्छ, कहिलेकाहीँ आँसु आउँछ ।”

हिन्दु र मुस्लिमको बाक्लो बस्ती रहेको नेपालगञ्जमा एकाबिहानै मस्जिदबाट अजान र मन्दिरबाट घण्टीको धुनसँगै सुनिन्छ । यही शहरले फेरि एक पटक सद्भावलाई बलियो बनाउने सन्देश दिन सफल भएको छ । तिज पर्वलाई कतिपयले पश्चिम सभ्यतासँग जोडेर गलत व्याख्या गरिरहेका बेला हिन्दु र मुस्लिम मिलेर सामाजिक सद्भाव र धार्मिक मौलिकता जगाउने सन्देश दिएका छन् । 

नेपालगञ्ज घरेलु तथा साना उद्योग महासङ्घ नगर कमिटीकी अध्यक्ष कालीमिया कस्मीरा खातुनको पहलमा आयोजना गरिएको तिज कार्यक्रममा करिब एक दर्जन मुस्लिम महिला सहभागी भए । तिज गीतको तालमा हिन्दु र मुस्लिम महिलाहरूको खुसी र एकताको स्वर गुन्जिएको थियो । आयोजक खातुनले भनिन, “हामी सबै महिलाको साझा खुसी हो तिज । धर्म फरक भए पनि एउटै घरजस्तो भएर रमाइलो गर्न पाउनु ठुलो कुरा हो, यसले सामाजिक सद्भाव कायम राख्ने सन्देश दिएको छ ।”

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच सद्भाव र सहअस्तित्वको लामो परम्परा छ । हिन्दुहरूको दसैँ र तिहारमा मुस्लिम समुदायका केही व्यक्तिहरूले रातो टीका, जमरा लगाउने गरेका छन् भने उनीहरूले मुस्लिमहरूको इदमा हिन्दु साथी–भाइलाई सेवइँ र मिष्टान्न खुवाउने गर्दछन् । यही पृष्ठभूमिले गर्दा यस वर्षको तिजमा मुस्लिम महिलाको सहभागिता यहाँको समाजलाई झन् रङ्गिन बनाइ दिएको छ । नेपालगञ्ज–१७ की बबी परियारले भनिन, “हामी सबै एक अर्काका चाडमा सहभागी हुन्छौँ । मुस्लिमहरूले इदमा बोलाउनुहुन्छ, हामीले तिजमा बोलाउँछौँ । यसरी चाडपर्व साट्दा सम्बन्ध अझै बलियो हुन्छ ।”

यस्तै, नेपालगञ्ज–१ की रेणु बेल्वासे पनि मुस्लिम महिलाको सहभागिताले यसपालिको तिज अझै अर्थपूर्ण भएको औँल्याइन् । उनले भनिन,“तिज केवल हिन्दु महिलाको चाड भन्ने छैन । यो सहअस्तित्वको पर्व हो । यसले हाम्रो समाजमा एकताको सन्देश दिन्छ ।,” 

नेपालगञ्जमा गुन्जिएका तिजका गीतहरूले यसपालि एउटै सन्देश दिएको छ,“धर्म फरक भए पनि खुसी साझा हुन्छ ।” यस्तो सहअस्तित्व र सद्भावकै कारण नेपालगञ्ज आज पनि सिङ्गो देशका लागि एक उदाहरण बनेको छ ।

प्रतिक्रिया