नेपालगञ्ज : बर्दियाको राजापुर नगरपालिकामा सुरक्षाकर्मी र सरोकारवालाहरूकालागि मानव बेचबिखन नियन्त्रण गर्न सीमा नाकामा संयन्त्र निर्माण सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाले आयोजना गरेको सो तालिममा नगरपालिकाका उपमेयर, वडा सदस्यहरू, महिला तथा बालबालिका विभागका प्रमुख, कार्यकारी सदस्यहरू, सूचना प्रविधि अधिकृत, सहायक प्रहरी निरीक्षकहरू र अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको छ ।
तालिमको उद्देश्य मानव बेचबिखन नियन्त्रण र निषेधित मानव यातायात गतिविधिहरू नियन्त्रण गर्न सीमा नाकामा संयन्त्र निर्माण लगायत सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्नु रहेको क्लबले जनाएको छ ।
तालिमको उदघाटन समारोहमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर विकले तालिमको उद्देश्यमाथि प्रकाश पार्नुका साथै मानव बेचबिखनका घटनाहरू दिनहुँ बढ्दै गएको र यस्ता घट्नाहरु नियन्त्रण चुनौती बन्दै गएकोले रोक्न सबैले मिलेर प्रयास गर्नुपर्नेमा जोड दिए ।
उनले स्थानीय सरकार, प्रहरी, विभिन्न संघसंस्थाहरू र स्थानीय अनुगमन समूहहरूले बेचबिखनविरुद्ध सक्रियरूपमा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।
दुई दिने तालिममा मानवबेचविखन रोकथामका उपायहरू, मानव बेचबिखन र अवैध यातायातको अवधारणा, यसका कारणहरू र मानव तस्करीलाई रोक्न अपनाउनुपर्ने सावधानीहरुका बारेमा सहभागिलाई प्रशिक्षित गरिनेछ ।
तालिमको सहजीकरण युवराज पोखरेलले गरेका छन् भने बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर प्रमिसा थारुले व्यवस्थापनमा सहयोग गरेकी छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार