Listen LIVE

बाँकेमा मगन्तेका कारण यात्रुलाई समस्या

नेपालगञ्ज : नेपालगञ्जका विभिन्न सार्वजनिक स्थलमा पैसा माग्ने (मागेर जीविका चलाउने)का कारण दैनिक यात्रा गर्ने यात्रुहरुलाई असहज भएको छ ।

नेपालगञ्जको वडा नम्बर १ मा पर्ने धम्बोझी चोक, पुष्पलाल चोकलगायतका अत्यन्त व्यस्त सडकका चोकहरुमा कटौरा लिएर माग्दै हिँड्नेहरुका कारण दैनिकरुपमा यात्रा गर्ने यात्रुहरुलाई असहज हुँदै गएको हो ।

धम्बोझी चोकनजिक छोटो दूरीका गाडी लाग्ने स्थान तथा पुष्पलाल चोकस्थित छोटो तथा लामो दूरीका गाडी लाग्ने स्थानहरुमा जबरजस्ती पैसा माग्नेहरुले पैदल यात्रा गर्ने यात्रु, रिक्सामा यात्रा गर्ने यात्रु तथा सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुसँग जबरजस्ती रुपैयाँ पैसा मागेर हैरान बनाउँदै आएका छन् ।

प्रायः गरेर महिला तथा बालबालिकाहरु हातमा कटौरा लिएर जबरजस्ती रुपैयाँ पैसा माग्दै गरेको दृश्य दैनिक उक्त स्थानहरुमा देख्न सकिन्छ । उनीहरुले पैदल हिँड्ने, रिक्सामा हिँड्ने तथा सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुसँग खुट्टामा ढोग्ने तथा रुपैयाँ माग्ने गर्नाले यात्रुहरु असहज बन्दै गएका देखिन्छन् ।

“गाडी रोकेको समयमा झ्यालबाहिरबाट कटौरा थापेर माग्छन्, अझ कुनै गाडीमा त गाडीभित्रै पसेर खुट्टा समातेर नै माग्ने गर्छन्, यत्रो मान्छेका बीचमा लाज बनाउँछन्, कहिले पैसा हुन्छ कहिले हुँदैन ।” एक महिला यात्रुले भनिन, “पैसा दिम् भन्दा हुँदैन, नदिम् भने मान्छेका अगाडि लाजै बनाउँछन्, सार्वजनिक गाडी चढेर हिँड्दा पनि असहज पारिदिन्छन् ।”

“म हरेकदिन नेपालगञ्जबाट कोहलपुर जान्छु, सार्वजनिक सवारीसाधन चढेर कार्यस्थल कोहलपुर पुग्ने गर्दछु, धम्बोझी चोक र पुष्पलाल चोकमा गाडी रोकिन्छ, गाडी रोकिएको बेलामा महिला तथा बालबालिकाहरु कटौरा थापेर हैरान पार्छन् ।” नेपालगञ्जबाट दैनिक कोहलपुर एक निजी संस्थामा काम गर्न जाने एक सर्वसाधारणले भने, “अति लाज गराउँछन्, कहिलेकाहीँ हुँदा दिने हो सधैँ त कसरी दिन सकिन्छ ? यिनीहरुले गर्दा नेपालगञ्जकै बेइज्जत भएको छ, बाहिरबाट नेपालगञ्ज घुम्न आएका पर्यटकहरुले के भन्दा हुन् ?”

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले यस विषयमा बुझेर नगरपालिकाको बैठकमा कुरा राख्ने र आवश्यक व्यवस्थापनको काम अगाडि बढाउने बताए । “यो राम्रो विषय होइन, बाहिरबाट नेपालगञ्ज घुम्न आउने पर्यटकहरुप्रति यो गतिविधिले नकारात्मक धारणा उत्पन्न गराउँछ, यस विषयमा बुझेर यसलाई नियन्त्रण गर्नका लागि नगर बैठकमा कुरा राख्छु र आवश्यक व्यवस्थापनको काम अगाडि बढाउँछौँ ।” उनले भने ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले तत्काल व्यवस्थापन गर्न गाह्रो भए पनि दीर्घकालीनरुपमा व्यवस्थापन गर्न आवश्यक रहेको बताए । “उक्त स्थानहरुमा यात्रुहरुसँग माग्दै गर्दा कैयौँपटक हामीले देखेर उनीहरुलाई त्यहाँबाट हटाउँछौँ, तत्काल व्यवस्थापन गर्न चुनौती नै छ, दीर्घकालीनरुपमा व्यवस्थापनका लागि उपमहानगरलगायतका सरोकारवालासँग आवश्यक समन्वय गरेर प्रहरीले गर्नुपर्ने सहयोग गर्छ ।”

प्रतिक्रिया