Listen LIVE

कर्णाली कटानले राजापुर जोखिममा

बर्दिया : कर्णाली नदीमा जलस्तर बढेपछि राजापुर नगरपालिका–४ दलैघाट कटानमा परेको छ । करिब २ सय मिटर कर्णाली नदीले दलैघाट क्षेत्रमा कटान गरिसकेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना (साबिक कर्णाली नदी व्यवस्थापन आयोजना) ले जनाएको छ । 

जलमापन केन्द्रका अनुसार शुक्रबार बिहान कर्णाली नदीमा ७ मिटर पानी बढेको छ । १० मिटरमाथि पुग्यो भने बाढीको खतरा मानिन्छ ।

यस क्षेत्रमा कटान रोक्न जलस्रोत व्यवस्थापन आयोजना लगायत स्थानीयले श्रमदान गरी अस्थायी रुपमा तटबन्ध गरेका छन् । कटानले राजापुर बजार उच्च जोखिममा रहेको छ । ठूलो बाढी आए यस क्षेत्र डुबानमा पर्ने जोखिममा रहेको इन्जिनियर नवीन जोशीले बताए ।

वर्षायाम सुरु भएयता हालसम्म २ सय मिटर नदीले कटान गरेको क्षेत्रमा अस्थायी रुपमा आयोजना लगायत स्थानीय जनस्तरबाट श्रमदान गरी अस्थायी तटबन्ध निर्माण गरिएको बताए । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले थुपारेको बोल्डर (ठूला ढुंगा) नदी कटान क्षेत्रमा राखेर तटबन्ध गरिएको जनाएको छ । यसका साथै बोरामा बालुवा भरेर तटबन्ध गरिएको छ । नदी कटानले राजापुर र कैलाली जोड्ने सत्तीघाट पुल पनि जोखिममा रहेको छ ।

०७१ असोज २९ गते कर्णाली नदीमा आउने बाढी कटान रोक्न कर्णाली नदी व्यवस्थापन कार्यालय स्थापना भयो । ५ वर्षभित्र ७१ किलोमिटर तटबन्धको काम सम्पन्न गर्ने लक्ष्य भए पनि पर्याप्त बजेटको अभाव र ठेकेदार कम्पनीको लापरबाहीले करिब १५ किलोमिटर तटबन्ध निर्माण भएको छ । समयमा तटबन्ध निर्माण नभए राजापुर नगरपालिका डुबान र कटानको जोखिममा भएकाले सरकारले यथाशीघ्र काम अघि बढाउन जरुरी रहेको उद्योग वाणिज्य संघ, बर्दियाका निवर्तमान अध्यक्ष केदार थापा बताउँछन् ।

प्रतिक्रिया