रुकुमपश्चिम : शुक्रबार राति जाजरकोटको पैंक केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमका तीन जना घाइते भएका छन् । भूकम्पको डरले भाग्ने क्रममा तीन जना घाइते भएका हुन् ।
रुकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार भूकम्पको कारण त्रिवेणी गाउँपालिका –८ पेउघाका १६ वर्षीय खम्बु बिक, बाँफिकोट गाउँपालिका –८ झुला निवासी १६ वर्षीया हिमाली देवकोटा र सानीभेरी गाउँपालिका –३ बेलटापु निवासी सीता पुन घाइते भएकी हुन् ।
भूकम्पको डरले भाग्ने क्रममा घाइते भएपछि त्रिवेणीका बिक र बाँफिकोटकी देवकोटालाई जिल्ला अस्पताल सल्लेमा भर्नामा गरिएको छ । पुनको भने घरमै उपचार भइरहेको बताइएको छ ।
जिल्ला अस्पतालका प्रमुख डा. महेश चौलागाईका अनुसार बिकको बाँया खुट्टा भाँचिएको छ भने देवकोटाको ढाडमा चोट रहेको छ । उहाँलाई बेहोस भएको भन्दै आफन्तले राति नै अस्पताल ल्याएका थिए । बिकको खुट्टाको अप्रेशन गरिने छ भने देवकोटाको अवस्था सामान्य बन्दै गएको छ ।
यसैगरी, भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा घरहरू चर्किएका छन् भने केहि घर भत्किएका छन् । आठबिसकोट नगरपालिका प्रमुख रबि केसीले मानविय क्षति नभएको तर घरहरुमा क्षति भएको जानकारी दिए । २०८० कात्तिक १७ गतेको भूकम्पले सामान्य चर्किएका घरहरु जोखिमपूर्ण बनेको उनले बताए । ती घरहरु बस्न लायक नभएको र रातभर सर्वसाधारणहरु डरले जाग्राम रहेको नगर प्रमुख केसीले उल्लेख गरे ।
जाजरकोट कुसे गाउँपालिकाको पैंक केन्द्रबिन्दु भएर शुक्रवार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको थियो । २०८० कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले ठुलो मानविय र भौतिक क्षति गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार