Listen LIVE

मूर्ति विसर्जनमा भएको आक्रमणप्रति राप्र युवा संगठनको घोर निन्दा

नेपालगञ्ज : बाँकेमा पछिल्लो समय धार्मिक आस्थामाथि आक्रमण भएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष युवराज शाहीले जारी गरेको विज्ञप्तिमा असोज १७ गतेका दिन हिन्दु धर्मावलम्बीहरूले नवदुर्गा भवानीको प्रतिमा (मूर्ति) बिसर्जन गर्न जाँदै गर्दा नेपालगञ्ज उपमहानगरपालिकाका १९, ६, १४ र १५ नम्बर वडाका विभिन्न स्थानहरूमा केही समूह र व्यक्तिहरूबाट धार्मिक आस्थामाथि गरिएको सांघातिक आक्रमणप्रति संगठनले घोर निन्दा र भत्र्सना गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत स्वतन्त्रता र धार्मिक आस्थामाथि भएको यो जघन्य आपराधिक घटना नेपालको संविधान २०७२ को मर्म र भावना विपरीतको गम्भीर र आपत्तिजनक घटना हो ।”

युवा संगठनले घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न बाँके जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको छ । साथै, जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

संगठनले राजनीतिक स्वार्थका लागि धार्मिक आस्थालाई खेलवाड नगर्न सबै राजनीतिक दल र नेताहरूलाई सचेत गराउँदै भनेको छ, “धार्मिकआस्था जस्तो संवेदनशील विषयमा कसैले पनि नजरअन्दाज नगरोस्, राजनीतिक स्वार्थ र चुनावी फाइदाको हिन भावनाबाट मुक्त रहोस् ।”

त्यसैगरी, बाँकेका सबै जातजाति, धर्म, भाषा र संस्कृतिहरूले परापूर्वकालदेखि मान्दै आएका रीतिरिवाज, चाडपर्व, मूल्य–मान्यता र धार्मिक परम्पराको संरक्षण, सम्बद्र्धन र जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको ठहर संगठनले गरेको छ ।

अध्यक्ष शाहीले अपिल गर्दै भनेका छन्, “बाँके जिल्लावासी दाजु–भाई तथा दिदी–बहिनीहरूले जस्तोसुकै कठिन परिस्थिति आए पनि आपसी मेलमिलाप र एकताको भावनाबाट बिचलित नहुन र संयमित रहनु होस् ।”

विज्ञप्तिमा संगठनले चेतावनी दिँदै भनेको छ, ‘यदि दोषीहरूलाई ढाकछोप गर्ने वा बचाउने प्रयास भयो भने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँके चुप लागेर नबस्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्नेछ ।,

प्रतिक्रिया