Listen LIVE

नेपालगञ्जमा सडकको बीचमा लगाइएका बिरुवा जोगाउन तारजाली

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीच भागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ ।

रत्न राजमार्गको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्रका सडकका बीच भागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले फूलका बोटलाई छाडा पशुचौपायाबाट जोगाउन तथा मानिसले जथाभाबी रूपमा भाँचिदिने र बिरुवा उखेलेर लगिदिने भएको हुनाले तारजाली लगाउन सुरु गरिएको बताए । “सडकको सौन्दर्य बढाउन हामीले यहाँ विभिन्न प्रजातिका बिरुवा र फूलका बोट रोपेका छौँ”, उनले भने, “छाडा पशुचौपायाले बोट भाँचिदिने र मानिसले फूल टिप्ने क्रममा हाँगा नै भाँचिदिएर सडकको सौन्दर्यतालाई अझै बिगारेकाले तारजाली लगाउन सुरु गरेका हौँ ।”

सडक दुर्घटना रोक्न पनि तारजाली लगाउन आवश्यक भएको उपप्रमुख राईले जानकारी दिए । “तारजालीले छाडा पशुचौपायालाई मात्र नभई जथाभाबी बाटो काटेर हिँड्ने यात्रीलाई पनि जेब्राक्रसबाट बाटो काट्न सिकाउने छ,” बिपी चोकबाट लगाउन सुरु गरिएको उक्त तारजाली (ग्रीन बेल्ट) धम्बोझी चोकसम्म लगाइने उपप्रमुख राईले बताए ।  

गत आर्थिक वर्ष २०८०/८१ को बजेट अनुसार उक्त तारजाली रु. २५ लाख लागतमा नेपालगञ्ज उपमहानगरपालिकाले लगाउन सुरु गरेको हो । गत वर्षको योजना रहेको तारजाली लगाउने कार्यक्रमलाई भने यस आर्थिक वर्षबाट सुरु गरिएको छ । एक हप्ता पहिलेदेखि नै छ जना कामदारले तारजाली लगाउन सुरु गरेका छन् ।

प्रतिक्रिया