Listen LIVE

विमानस्थल र जमुनाहा नाकामा सुरक्षा जाँचमा कडाई

नेपालगञ्ज : दसैं तिहार जस्ता चाडपर्वको बेला हुन सक्ने विभिन्न प्रकारका अपराधिक कार्यहरु रोक्न नेपालगन्ज विमानस्थल र नेपाल भारत जमुनाहा नाकामा सुरक्षा जाँचमा कडाई सुरु गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अहिले चाडपर्व मनाउन भारतबाट दैनिक सयौंको सङ्ख्यामा नेपालीहरु फर्किरहेको तथा हवाई यातायातमा समेत सबैभन्दा बढी चाप भएकोले विमानस्थल र सीमा नाकामा विशेष निगरानी बढाएर सुरक्षा चेकजाँच सुरु गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्कीले नजिकिंँदै गरेको चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत नेपाल भारत नाका र नेपालगन्ज विमानस्थलमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरेर विशेष चोकजाँच सुरु गरिएको बताए । 

उनले जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाहा, बाँके र के–नाईन शाखा कोहलपुर बाँकेको संयुक्त टोलीले नेपाल प्रहरीको विस्फोटक पदार्थ र लागू औषध सम्बन्धी तालिम प्राप्त कुकुरहरुद्वारा नेपाल भारत आवत जावत गर्ने मुख्य नाका जमुनाहमा जाँच गराउन थालिएको बताए । सो जाँचका क्रममा तालिम प्राप्त कुकुरको सहायताले लागू औषध ब्राउन सुगरसहित एक जना मानिसलाई फेला पारी नियन्त्रणमा लिइएको पनि जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले बताए । 

अहिले जमुनाहा नाकाबाट दैनिक पाँच हजार भन्दा बढी नेपालीहरु चाडपर्वका लागि स्वदेश फर्किरहेकोले भिडभाडको फाइदा उठाएर विभिन्न गैर कानुनी सामान भित्रिन सक्ने आशंकाका कारण सुरक्षा जाँचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

सोही प्रकारले अहिले नेपालगञ्ज विमानस्थलमा हवाई उडानहरु धेरै वृद्धि भएको र आवागमन गर्ने यात्रुहरुको सङ्ख्या अत्यधिक बढेकोले सुरक्षा चुनौती समेत बढेको जनाउँदै विमानस्थलको सुरक्षा पनि कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी कार्कीले बताए । 

उनले विमानस्थलमा पनि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके र के–नाईन शाखा कोहलपुर बाँकेको संयुक्त टोलीले तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच गरिरहेको बताए । सोही प्रकारले नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा समेत सुरक्षा जाँचमा कडाई गरिएको प्रहरीले जनाएको छ । 

भारतबाट आउने नेपालीहरु नाकाबाटै रिक्सा, टेम्पो चालक र नेपालगञ्ज तथा कोहलपुर पुगेपछि होटेल व्यवसायीबाट ठगिने भएकोेले सो रोक्न पनि बिशेष योजना बनाएर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया