नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिका अन्तर्गत विभिन्न विद्यालयका ३१ जना छात्राहरुलाई निःशुल्क साइकल वितरण गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको सहयोग र सम्बद्ध नगरपालिकाको समन्वयमा राजापुर र मधुवन नगरपालिकामा संचालित ‘सुरक्षा परियोजना’ अन्तर्गत छात्राहरुको पढाईलाई निरन्तर राख्न सहयोग स्वरुप साइकल वितरण गरिएको हो ।
आफु अध्ययनरत विद्यालय घरवाट टाढा टाढा भएकोले बिद्यालय पुग्न सहज होस भनेर पैदल हिडनुपर्ने अवस्थाका छात्राहरुलाई निशुल्क साइकल वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।
परियोजनाले मूलतः छात्राहरुको सशक्तिकरणका विभिन्न आयामहरुमा काम गर्दै आएको जनाउँदै उनले बालबलिका बेचबिखन बारे अभिभावक, शिक्षक–शिक्षिका, समुदाय तथा छात्राहरुमा सचेतीकरण अभियान, छात्राहरुको शिक्षा, स्वास्थ्यको सुरक्षालगायतका विषयलाई परियोजनामा समेटिएको बताए ।
राजपुरको मानपुर टपरा वडा नं. ६ मा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरी, क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकी, अध्यक्ष रबि तुलाधर, बरिष्ठ उपाध्यक्ष पँचम गुरुङ्गलगायतले छात्राहरुलाई साइकल वितरण गरेका थिए ।
सो अवसरमा उपमेयर चौधरीले साइकल बितरणले छात्राहरुको अध्ययनलाई निरन्तरता दिन ठुलो सहयोग गर्ने जनाउँदै उनिहरुको सशक्तिकरणमा समेत टेवा पुग्ने बताइन् । उनले सुरक्षा परियोजना किशोरीहरुलाई सशक्त पार्न अतिनै प्रभावकारी भएको समेत बताइन् ।
क्लबका अध्यक्ष तुलाधरको अध्यक्षतामा भएको कार्यक्रममा राजापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष राजेश थारुले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वडा नं. ३ का अध्यक्ष प्रसादु थारु, भेरी माविका प्रधानाध्यापक शिवप्रसाद कोइराला, जनचेतना माविका सहायक प्रधानाध्यापक सुवास खत्री, शिक्षक जयश्री दहित, बाँके युनेस्को क्लबका बरिष्ठ सल्लाहकार नीरज गौतम, बर्दिया युनेस्को संघका अध्यक्ष भिमसेन चौधरी, परियोजनाका सुपरभाइजर प्रमिसा थारु, पत्रकार सन्तोष पौडेललगायतको उपस्थिति रहेको थियो ।
यसअघि मधुवन नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका १० जना छात्राहरुलाई पनि निःशुल्क साइकल वितरण गरिएको सुरक्षा परियोजनाका संयोजक ईश्वर विकले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार