नेपालगञ्ज : नेपालगञ्ज–गुलरिया सडक विस्तारको क्रममा अन्यौलग्रस्त रहेको धम्बोझीस्थित खजुरारोड विस्तारका लागि नेपालगञ्ज उपमहानगरपालिकाले पहल अघि बढाएको छ ।
नेपालगञ्ज उप–महानगरपालिका वडा १ का वडाध्यक्ष एवं प्रवक्ता प्रमोद रिजालले सडक विस्तारका लागि उपमहानगरपालिकाले हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्ज सँग सम्न्वय अघि बढाएको जानकारी दिए ।
नगर प्रवक्ता रिजालले भने, “नेपालगञ्ज–गुलरिया सडकको बाँकी काम करिब सम्पन्न भई सकेको छ, धम्बोझीतर्फको सडक विस्तारका लागि हुलाकी राजमार्गसँग समन्वय गरि सहजीकरण गर्न तयार रहेको जानकारी गराएका छौँ ।” उनले सडक विस्तारका लागि सडक मापदण्डभित्र परेका केही संरचना भत्काउनु पर्ने भएकाले हुलाकी राजमार्गले सहयोग खोजेको भन्दै उपमहानगरपालिका र वडा कार्यालयले आवश्यक सहजीकरण गर्न तयार रहेको बताए ।
सडक विस्तारको विषयमा केन्द्रीत रहि हुलाकी सडक निर्देशनालय योजना कार्यालय नेपालगञ्ज र नेपालगञ्ज उपमहानगरपालिकाबिच तत्कालै समन्वय बैठक बस्ने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सडक निर्माणको सुरुवाती चरणमा हुलाकी राजमार्ग निर्देशनालय र उपमहानगरपालिकाबिच प्रारम्भिक छलफल भएको जानकारी दिँदै अब बाँकी सडकखण्ड विस्तारका लागि आवश्यक सबै सहयोग र सहजीकरणका लागि तयार रहेको बताए ।
नेपालगञ्जको धम्बोझीदेखि बर्दियाको गुलरियासम्म सडक विस्तारको योजना भए पनि घना बस्ती भएका कारण धम्बोझीभन्दा करिब २ किलोमिटर पश्चिम नन्दनी मिलबाट सडक निर्माण कार्य सुरु भएको थियो ।
नन्दनी मिलदेखि गुलरियासम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख डिभिजनल इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिए । भण्डारीले स्थानीय बासिन्दा सहमतिमा आएपछि तत्कालै सडक निर्माण कार्य अघि बढ्ने जानकारी दिए ।
धम्बोझीदेखि नन्दनीमिलसम्म दर्जनौं घर लगायत अन्य संरचना सडक क्षेत्रभित्र भएका कारण हुलाकी राजमार्गलाई निर्माण कार्य अघि बढाउन कठिनाइ भएको छ । ३२ किलोमिटर लम्बाईको नेपालगञ्ज–गुलरिया सडक करिब तीन अर्बमा शर्मा एन्ड शर्मा कम्पनीले निर्माण गरिरहेको छ । यो सडक घना बस्ती क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेनको निर्माण गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार