Listen LIVE

छाडा पशुका कारण बाँकेमा दुर्घटना बढ्यो

नेपालगञ्ज : छाडा पशु चौपायाका कारण बाँकेमा दुर्घटनाको जोखिम बढेको छ। स्थानीय सरकारले छाडा पशुलाई व्यवस्थापन गर्न नसक्दा दुर्घटना बढिरहेको हो।

गाईलाई दूध दिने बेलासम्म र गोरु, गधा, खच्चड र घोडालाई काम गर्न सक्ने बेलासम्म घरमा राख्ने र काम गर्न नसक्ने भएपछि सडकमा छोड्ने प्रवृत्तिले सडक दुर्घटना बढिरहेको हो।

दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ। छाडा पशुका कारण पैदल यात्रुले समेत सास्ती खेपेका छन्।

जिल्ला ट्राफिक कार्यालय, बाँकेका अनुसार आव ०८१÷८२ मा छाडा पशुका कारण ११ वटा दुर्घटना भएका छन्। दुर्घटनामा २२ वटा पशु मरेका छन् भने ७ पशु घाइते भएका छन्।

दुर्घटनामा १० जना मानिस घाइते भएका छन्। आव ०८०÷८१ मा छाडा पशुका कारण ९ वटा दुर्घटना भएका छन्। १२ वटा पशु मरेका छन् भने ३ वटा पशु घाइते भएका छन्। दुर्घटनामा ३ जना मानिस घाइते भएका छन्।

चालु आवको साउन महिनामा एउटा दुर्घटना भएको छ। एक पशु मरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले छाडा पशुका कारण दुर्घटना बढेको बताए।

नेपालगञ्जका मेयर प्रशान्त विष्टले सडकमा देखिएका पशुलाई कान्जीहाउसमा लगेर राख्ने काम भइरहेको बताए। उनले भने, ‘हामीले छाडा पशुलाई कान्जीहाउसमा लगिरहेका छौँ। तर, खुल्ला सीमाका कारण पारीबाट पशु आइरहेका छन्।’

नेपालगञ्ज उपमहानगरपालिकाले खानामा वार्षिक दस लाख बढी खर्च गरेर कान्जीहाउसमा छाडा पशुको व्यवस्थापन गरिरहेको जनाएको छ।

प्रतिक्रिया