Listen LIVE

बाल र मानवबेचविखन रोक्न राजापुरमा अन्तरपुस्ता संवाद

नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर आठमा बाल तथा मानवबेचविखनका सवालमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरेको छ । 

क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत बालबालिका तथा मानव बेचबिखनसम्बन्धी बढ्दो चिन्तालाई सम्बोधन गर्न सो अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरेको हो । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकला कुमारी चौधरीले बाल तथा मानवबेचविखन नियन्त्रणका लागि युनेस्को र प्लान नेपालले गरेका कार्यक्रम निकै प्रभावकारी रहेको जनाउँदै समुदायमा सचेतना आवश्यक भएको बताइन् । 

कार्यक्रममा प्रहरी, स्थानीय सरकारी निकाय, समुदायका अगुवाहरू, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता वार्ड अध्यक्षले गर्नुभएको थियो भने सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरीले गरेकी थिइन् । 

संवाद कार्यक्रमले पुस्ताबीचको अन्तरलाई कम गर्न र बालबालिका तथा अन्य संवेदनशील समूहहरूको सुरक्षा गर्न सहकार्यात्मक समाधानहरू खोज्ने उद्देश्यलाई पुरा गरेको बाँके युनेस्को क्लबले जनाएको छ । 

संवाद कार्यक्रमका सहभागीहरूले आफ्ना अनुभवहरू साझा गर्दै, समस्याका मूल कारणहरूबारे छलफल गरेर रोकथाम तथा संरक्षणकालागि समुदायमै आधारित रणनीतिहरू तयार गरेका थिए । 

कार्यक्रममा विभिन्न निकायहरूबीचको सशक्त समन्वय, स्थानीयस्तरमा जनचेतना अभिवृद्धि, र मानव बेचबिखन विरुद्ध युवाको सक्रिय सहभागिताको आवश्यकता माथि पनि बिशेष जोड दिईएको परियोजना संयोजक ईश्वर विकले बताए । 

उनका अनुसार सो कार्यक्रम सामूहिक प्रतिबद्धतासहित सम्पन्न भएको थियो जसमा सहभागीहरूले बालबालिका संरक्षण तथा समुदायमा मानव अधिकारको प्रवद्र्धनकालागि सक्रिय कदम चाल्ने संकल्प व्यक्त गरेका थिए । 

सो अन्तरपुस्ता संवादमा क्लबका फिल्ड सुपरभाइजर प्रमिशा थारुले समेत सहजीकरण र सहयोग गरेकी थिइन् ।

प्रतिक्रिया