Listen LIVE

तस्करीविरुद्ध बाँके प्रहरीको विशेष आप्रेशन

नेपालगञ्ज : भारतसँगको प्रमुख नाकामध्ये एक रहेको बाँके जिल्लामा पछिल्लो समय लागुऔषधको कारोबार तीव्ररूपमा बढेपछि प्रहरी प्रशासनले विशेष ‘अप्रेशन’ सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध ब्युरोको संयुक्त टोलीले सञ्चालन गरेको अप्रेशनले क्रमशः सफलता पाउँदै गएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार अप्रेशनअन्तर्गत गत एक सातामै ४२५.५ ग्राम लागुऔषध ब्राउन सुगर बरामद हुनुका साथै आठ जना कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरले खुला सीमानाकाका कारण भारततर्फबाट लागुऔषध भित्रिने क्रम बढेपछि ब्युरोसँग मिलेर संयुक्त अपरेसन गर्नु परेको बताए । उनका अनुसार पछिल्लो समय ठुलो परिमाणमा लागुऔषधसहित तस्करहरू पक्राउ परिरहेका छन् ।

हालै विशेष सूचनाका आधारमा नेपालगञ्ज–१६, जयसपुरबाट २१ वर्षीय रियाज खानलाई पक्राउ गरिएको छ । खानका साथबाट एक सय ग्राम ब्राउनसुगरसहित युपी ३२ एनयु ७४३५ नम्बरको रातो पल्सर मोटरसाइकलसमेत बरामद भएको प्रहरीको भनाइ छ । यसअघि अस्थायी प्रहरी पोस्ट नगर भवनका सहायक प्रहरी निरीक्षक सुनील शाहीको टोलीले १४९ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । 

यस्तै नेपालगञ्ज–११, त्रिभुवन चोकबाट ४४ वर्षीय रसुल अहमद कबडियालाई १०१ ग्रामसहित र एकलैनी मुसाफिर खानानजिकबाट दाङ तुलसीपुर–५, पुलचोकका २७ वर्षीय विराज विकलाई ४८ ग्रामसहित पक्राउ गरिएको थियो । दुवै पेशागत लागुऔषध कारोबारी भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

यस्तै गत सातामै नेपालगञ्ज बसपार्क पछाडिबाट १६१ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका थिए । सो क्रममा लागुऔषध ब्युरोका सहायक प्रहरी निरीक्षक नवीन शाहीमाथि कारोबारीले आक्रमण गरेका थिए । प्रहरीको जवाफी कारबाहीमा गोली प्रहार गरी दुई भारतीयसहित चार जनालाई नियन्त्रणमा लिइएको थियो ।

यसअघि गत साताको शुरुवातमा नेपालगञ्ज–१४, उधौपुरवाका २८ वर्षीय रमेश लोनियालाई घरमै छापा मार्दा २२ लाख रुपैयाँ नगद र १५.५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । लोनिया लागुऔषधको ठुलो कारोबारी रहेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार अपरेसनले प्रयोगकर्ता, ओसारपसारकर्ता र विक्रेतासम्मलाई लक्षित गरेको छ । उनले भने, “तस्करीको जालो तोड्न धेरै हदसम्म सफलता पाएका छौँ । प्रहरीले अझ कडा निगरानी गरिरहेको छ ।”

यसरी लगातार भइरहेको विशेष अप्रेशनले बाँकेमा लागुऔषध नियन्त्रणमा सकारात्मक प्रभाव पारेको प्रहरीको दाबी छ । तर खुला सिमानाका कारण यस चुनौतीलाई दीर्घकालीनरूपमा समाधान गर्न थप समन्वय र कठोर कानुनी कदम आवश्यक रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया