Listen LIVE

चितुवाको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

बर्दिया : बर्दियामा सामुदायिक वनमा घाँस काट्न गएको समयमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं १२ टडुवामा रहेको नेपाल केदुवाई सामुदायिक वनमा घाँस काट्दै गर्दा चितुवाले आक्रमण गरेपछि सोही ठाउँकी २८ वर्षीया कविता तामाङको मृत्यु भएको हो । 

घर नजिकैको जङ्गलमा घाँस काट्न जाने क्रममा तामाङलाई चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमण गरेपश्चात् सँगै गएका साथीहरूले स्थानीयबासीलाई खबर गरेका थिए । स्थानीयबासीले हो हल्ला गरेपछि चितुवाले छोडेर भागेको थियो । 

तामाङको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले बताए । उनले बिहान जङ्गलमा चार जनाको समूहमा घाँस काट्न गएको समयमा चितुवाले आक्रमण गरेको बताए ।

मृतक महिलाको घरमा तीन वर्षको बच्चा रहेको स्थानीयबासीले बताएका छन् । पटक–पटक चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुन थालेपछि स्थानीयबासी त्रसित भएका छन् । गत साउन ३१ गते सो स्थानबाट नजिक रहेको गुलरिया नगरपालिका वडा नं ११ भैँसाहीमा चितुवाले आक्रमण गर्दा ४५ वर्षीय जगतरानी थारूको मृत्यु भएको थियो । 

चितुवा नियन्त्रणका लागि स्थानीयवासीले माग गरेका छन् । एक महिनाको अन्तरालमा नजिकै दुई जनाको मृत्यु हुँदा पनि सम्बन्धित निकायले चितुवा नियन्त्रणमा लिन नसकेको स्थानीयले आरोप लगाएका छन् । 

एकमहिना अघिदेखि चितुवा नियन्त्रणका लागि क्यामेरा र चार वटा पासो राखिएको सूचना अधिकारी चौधरीले बताए । उनले चितुवा नियन्त्रणका लागि लगातार प्रयास गरेपनि पासोमा चितुवा नपरेको बताए । घटनापछि चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सुरक्षाकर्मीको टोली घटनास्थल तर्फ हिँडेको उनले बताए ।

प्रतिक्रिया