Listen LIVE

तुलसीपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान ११ बजे  दुर्घटनामा परि यात्रुबहाक बसमा सवार मध्य दंगीशरण गाउँपालिका २ का ६५ बर्षीय नारायण भण्डारी र ३७ बर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । ३० दुर्घटनाका घाइतेमध्ये अधिकाँशको अवस्था मध्यम छ । ६ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

स्कुल बसलाई ठक्कर दिएपछि अनियन्त्रित भइ यात्रुबहाक बस पल्टिएको प्रहरीले जनाएको छ ।

दंगीशरण गाउँपालिका २ कौवाघारीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको यात्रुबहाक बसले राप्ती राजमार्गअन्तर्गत तुलसीपुर १३ बखरियामा आइ पुगेपछि स्कुल बसलाई ठक्कर दिएको थियो ।

तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति माविको विद्यार्थी छोडेर फर्किदै गरेको रा १ ख ८७० नम्बरको बसलाई ठक्कर दिएपछि यात्रुबहाक बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।

स्कूल बस बिद्यार्थी छोडेर मोड्दै गर्दा वरालोमा यात्रुबहाक बसले ठक्कर दिएको थियो । यात्रुबहाक बसको ठक्करबाट स्कूल बसमा सामान्य क्षति पुगेको छ । यात्रुबहाक बसको ब्रेक फेल भएपछि वरालोमा अनियन्त्रित बनेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

प्रतिक्रिया