Listen LIVE

बागेश्वरी मन्दिरमा आज विशेष महाआरती

नेपालगञ्ज : बागेश्वरी मन्दिरमा सोमबार हुन लागेको महा–आरतीलाई श्रावण मास विशेष रुपमा सञ्चालन गरिने भएको छ । बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समिति नेपालगन्जले त्यसको तयारी गरेको हो ।

समितिका अध्यक्ष गोपालप्रसाद अधिकारीले आज १३२ औं र साउन २६ मा १३३ औं श्रृंखला भव्य रुपमा मनाउन लागिएको जानकारी दिए । मन्दिरले साउन ५ र १२ गतेको महाआरतीलाई पनि विशेष रुपमा सम्पन्न गरेको थियो । साउन महिनाका बाँकी रहेका दुई वटा सोमबारलाई अझ भब्य बनाउने तयारी रहेको अध्यक्ष अधिकारीले बताए । 

उनका अनुसार आज महाआरतीमा ७ लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) गरिने भएको छ । महाआरतीमा बाँके र बर्दियाका विभिन्न मठमन्दिरमा मठाधीश, सन्त, महन्तका साथै छिमेकी देश भारतको उत्तर प्रदेशका शक्तिपीठ र मठमन्दिरका महन्तहरूलाई आमन्त्रण गरी श्रावण मास विशेष बनाउने जानकारी दिए ।

नाट्टा बाँके च्याप्टरको संयोजनमा ७ लाख दिप प्रज्वलन र साउनको अन्तिम सोमबार २६ गते १३३ औं श्रृंखला महाआरतीमा रुद्राभिषेक गरेर हरेक भक्तलाई रुद्राक्ष प्रसाद उपलब्ध गराउने तयारी भएको समितिका सदस्य सुनिलसिंह हमालले बताए । महाआरती स्थलमा खुशियालीसहित शान्त र सौम्य आतिसबाजी पनि गरिने समितिले जनाएको छ ।

महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक हमालको नेतृत्वमा महाआरती नियमित रुपमा सञ्चालन हुँदै आएको छ । नेपालगन्जमा सम्पन्न दोस्रो वेष्टर्न ट्राभल मार्टको अवसर पारेर बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा नाट्टा बाँके च्याप्टरको समन्वयमा २०७९ माघ १५ गते महाआरती सुरु भएको थियो ।

प्रतिक्रिया