पर्वत : भारी वर्षासँगै आएको पहिरो घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा एकै परिवारका दुई जना बेपत्ता भएका छन्।
जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा माथिबाट आएको पहिरोले एक घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्सिया विष्णुमती बिक बेपत्ता भएका हुन्। उनीहरूकी बुहारी ३२ बर्सिया पवित्रा बिकले भने भागेर ज्यान बचाएकी छिन्।
सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन्। अहिले बेपत्ता दम्पतीको खोजी कार्य भइरहेको वडा सदस्य सन्तोष बिकले बताए।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने बताए। प्रारम्भिक रूपमा आएको सूचनामा घरमा दुई जना रहेको बताइएको र उनीहरू भागेका थिए वा घरभित्र नै परे भन्ने कुराको यकिन जानकारी नआएको उनको भनाइ छ। तर भागेको हुन सक्ने विषयमा कुनै विवरणहरू प्रहरीमा नआएको उनले बताए।
उद्धारको लागि जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट प्रहरीको टोली जान लागिरहेको भए पनि सड्क अवरुद्ध भएका कारण घट्नास्थलामा पुग्न केही समय लाग्न सक्ने प्रहरीले बताएको छ।
सहजै सवारी चलेको अवस्थामा पनि मोदी गाउँपालिकाको केन्द्र पातिचौरबाट एकडेढ घण्टाको समय लाग्ने सडक खण्ड अवरुद्ध बनेको छ। अब प्रहरीको टोली हिँडेर घटनास्थलमा पुग्दा तीन चार घण्टा लाग्न सक्ने प्रहरी निरीक्षक सापकोटाले बताए।
शनिवार रातीदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भारी तथा अति भारी वर्षा भइरहेको छ। यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार