नेपालगञ्ज : यहाँस्थित नेपाल–भारत जमुनाहा नाका मानव बेचविखनको उच्च जोखिममा रहेको पाइएको छ । जोखिममा रहेको नेपालगन्जस्थित नेपाल भारत सीमा नाका जमुनाहाबाट गत एक वर्षको अवधिमा मात्रै बेचविखनको जोखिममा रहेका १५ सय ३८ जनाको उद्धार गरिएको छ ।
नाकामा बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपाल नेपालगञ्जका अनुसार जमुनाहा नाकाबाट उद्धार गरेर फिर्ता पठाइएका १५ सय ३८ जना मध्ये ३३५ जना महिला तथा बालबालिका बाँके जिल्लाका मात्रै रहेका थिए ।
माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले आर्थिक वर्ष २०८१÷८२ मा कोहलपुरका ८० जना, बैजनाथका ६८, नेपालगन्जका ५६, खजुराका ४७, राप्तीसोनारीका ४५, जानकीका २०, नरैनापुरका १० र डुडुवाका नौ जना महिला तथा बालबालिकालाई जमुनाहा नाकाबाट उद्धार गरेर फिर्ता पठाइएको बताए ।
संयोजक कोइरालाका अनुसार गत वर्षको सोही अवधिमा हराएका महिला र बालबालिकाको खोजतलास तथा उद्धारका लागि ८३३ जनाको निवेदन परेकोमा ४३७ जना मात्र फेला परेका थिए । अन्यको खोजतलाश भइरहेको जनाइएको छ । ती मध्ये बाँके जिल्लाका मात्रै ११९ जना हराएको रहेकोमा ११४ जना फेला परेका थिए ।
संयोजक कोइरालाले सामाजिक सञ्जाल, इन्टरनेटको पहुँचलगायत आधुनिक प्रविधिका कारण मानव बेचबिखनको तरिका र बाटो फरक हुँदै गएकोले नियन्त्रणमा पनि चुनौती थपिँदै गएको बताए । उनले भारतीय सीमानासँग जोडिएका पश्चिम नेपालका दुई जिल्ला बाँके र बर्दिया मानव बेचविखनको उच्च जोखिममा रहेको पाइएको बताए ।
केही वर्ष पहिलेसम्म यी दुबै जिल्ला ट्रान्जिट प्वाइन्ट मात्रै रहँदै आएपनि हाल आएर यी जिल्लाबाटै बढी महिला तथा बालिका जोखिममा पर्ने गरेको र हराउने गरेको पाइएको माइती नेपाल नेपालगञ्जले जनाएको छ ।
माइती नेपालको तथ्याङ्कमा जोखिममा पर्ने तथा हराउनेहरुमा ब्राम्हण क्षेत्री सबैभन्दा बढी देखिएका छन् । त्यसपछि दलित, जनजाति र आदिवासी रहेका छन् । उमेर समूहका अनुसार १४ बर्षदेखि ४० वर्षसम्मका महिलाहरु बढी रहेको माइती नेपालले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार