कालीकोट : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ जुबिथामा भएको आगलागी पीडितलाई सहयोग गरिएको छ । गत असोज ३० गते एक घरबाट सुरु भएको आगोले तीन घर जलेर नष्ट हुँदा २६ घर परिवार विस्थापित भएका थिए । आगलागी पीडित परिवारलाई सेभ दे चिल्ड्रन र भिडिसेफ नेपाल कालीकोटले सहयात्रा तेस्रो परियोजनाको आर्थिक सहयोगमा पीडित परिवारलाई चिसोबाट बच्नका लागि ब्लाङ्केट, डस्ना, बेडसिटलगायत खाद्यान्न सहयोग गरेको छ ।
भिडिसेफ नेपाल कालीकोटका अध्यक्ष कल्पना रावल बोगटीले अग्निपीडित परिवारलाई करिब चार लाख बराबरको खाद्यान्न तथा चिसोबाट बचाउन ब्लाङ्केट, डस्ना लगायतका सामग्री सहयोग गरिएको बताए । आगलागीबाट तीन घर पूरै जलेका छन् । तीन घर जल्दा २६ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले अग्निपीडित परिवारलाई खाद्य तथा गैरखाद्य सामग्री वितरण गरेकोमा खुसी लागेको बताए । उनले पीडितलाई खान र ओढ्ने ओछ्याउनेको समस्या भइरहेका बेला सहयोग सामग्रीसहित पुग्ने भिडिसेफ नेपाल कालीकोटलाई धन्यवाद दिए ।
तिलागुफा ६ का अग्निपीडित पम्फा शाहीले आफ्नो चार जनाको परिवार दुःखमा भएका बेला सहयोग लिएर आउने भिडिसेफ नेपाल कालीकोट लाई धन्यवाद दिए । उनले भने, ‘‘आगोले पुरै घर जलेर नष्ट भयो, खान बस्नका लागि बिचल्ली भयौँ, घर पनि छैन । यो चिसो मौसममा त झनै दुःख भइरहेको छ, अहिले छिमेकीको घरमा बसिरहेका छौँ । आफैँले अहिले घर बनाउन सक्ने अवस्था पनि छैन । अब कसैले सानो टिनको छाप्रो बनाइदिए हुने थियो ।’’
यसैगरी, अर्का ७७ वर्षका अग्निपीडित खड्कबहादुर शाहीले २६ घर परिवारलाई आगलागीले बिचल्ली बनाएको बताए । उनका अनुसार आगलागीबाट नष्ट भएका तीन घरमा २६ परिवारका एक सय ५० जना सदस्य आश्रित थिए । अहिले सबैको बास त्रिपालमुनि भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार