Listen LIVE

नाजिया बनिन् एक दिनका लागि गुलरियाकी उपमेयर

नेपालगञ्ज : बर्दियाको गुलरिया नगरपालिकामा रहेको प्रगति किशोरी क्लबकी सदस्य नाजिया खानले एक दिनका लागि उपमेयर सावित्रा गौतमको पदभार ग्रहण गरेपछि आफुमा समाजका लागि केही गर्ने आत्मविश्वास बृद्धि भएको बताइन् । उनले यो कार्यक्रमले किशोरीहरुको क्षमता विकासमा पनि ठुलो योगदान गरेको बताइन् ।  

प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको शसक्त बालिका परियोजनाको गल्र्स टेकओभर कार्यक्रम अन्तर्गत नाजिया खान गुलरिया नगरपालिकाको एक दिनको उपमेयर बनेकी हुन् । 

सो कार्यक्रमको उद्देश्य किशोरीहरूलाई उनीहरूको रोल मोडेल बन्नसक्ने क्षमतालाई महशुस गर्न र भविष्यमा नेतृत्वदायी भूमिका खेल्न थप प्रोत्साहित गरेर उनीहरूलाई सशक्त बनाउनु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।

सो अवसरमा बोल्दै गुलरियाकी उपमेयर सावित्रा गौतमले गल्र्स टेकओभर कार्यक्रमले किशोरीहरुको क्षमता बढाउनुका साथै उनिहरुमा नेतृत्व गर्ने बिश्वास पनि बढाउने बताइन् । 

कार्यक्रममा उपस्थित विभिन्न किशोरी क्लबका सदस्यहरुले एकदिवसीय उपमेयरसँग नगरपालिकाका विभिन्न विभागसँग सम्बन्धित जिज्ञासा राखेका थिए । नाजियाले आफ्नो ज्ञान प्रयोग गरेर विभिन्न जिज्ञासाको जवाफ दिइन् । जसले उनको आत्मविश्वासलाई उल्लेखनीयरूपमा बढाएको थियो । 

गल्र्स टेकओभर कार्यक्रमको प्रमुख उपलब्धि उपमेयरको भूमिकामा रहेकी किशोरीको मनोवैज्ञानिक सशक्तिकरण हुनु रहेको परियोजना संयोजक गोविन्द लामिछानेले बताए । 

उनले यो अनुभवले किशोरीको जिम्मेवारी लिन सक्ने क्षमतालाई बढाउनुका साथै रोल मोडेल बन्न र समाजमा योगदान गर्न प्रयास गर्न प्रोत्साहित गरेको बताए । यसले उनलाई प्रभावकारीरूपमा समस्याहरू समाधान गर्ने क्षमताको विकास गर्न मद्दत गरेको र नेतृत्व र राजनीतिको बारेमा जानकारीसमेत गराएको बाँके युनेस्को क्लबले जनाएको छ । 

यो कार्यक्रमले किशोरी क्लबका सदस्यहरूलाई बिना कुनै हिचकिचाहट स्थानीय सरकारका प्रतिनिधिहरूलाई सीधै आफ्ना समस्याहरू सुनाउने अवसर पनि प्रदान गरेको थियो ।

कार्यक्रममा पालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल, शिक्षा, स्वास्थ्य र महिला तथा बालिका शाखाका प्रमुखहरु, विभिन्न किशोरी क्लबका सदस्यहरु लगायत क्लबका सुपरभाइजर नग्मा मनिहार र मुल्यांकन अधिकृत अनु चौधरीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया