Listen LIVE

नेपालगञ्जको प्रादेशिक महोत्सवमा रोजगारीको खोजी

नेपालगञ्ज : नेपालगञ्जमा जारी प्रादेशिक महोत्सव २०८१ अन्तर्गत सञ्चालित रोजगार मेलामा १० जिल्लाका ७१ जनाले रोजगारीको लागि निवेदन दिएका छन्। नेपालगन्ज उद्योग वाणिज्य सङ्घले बाँकेका ७ वटा स्थानीय तहसँगको सहकार्यमा कंरकादोस्थित सडक डिभिजन कार्यालय परिसरमा महोत्सव आयोजना गरेको हो। महोत्सवमा ‘ए–वान स्टल’ स्थापना गरी रोजगारी खोजिरहेका व्यक्तिहरूको विवरण सङ्कलन गरिएको छ।

रोजगार मेला व्यवस्थापन उप–समिति संयोजक भीमबहादुर रानाभाटका अनुसार निवेदन दिनेहरूमा सबैभन्दा धेरै बाँकेका ५३ जना छन्। त्यसैगरी, हुम्लाका ४, सुर्खेतका ३, डोल्पा र दैलेखका २–२ तथा दाङ, जुम्ला, जाजरकोट र सल्यानका १–१ जनाले निवेदन दिएका छन्। ‘हामी अहिले पहिलो चरणमा तथ्याङ्क सङ्कलन गरिरहेका छौँ, दोस्रो चरणमा प्रत्यक्ष रूपमा रोजगारदाता र रोजगारी खोज्नेहरूलाई जोड्ने गरी मेला आयोजना गर्नेछौँ,’ संयोजक रानाभाटले जानकारी दिए।

निवेदन दिनेहरू विभिन्न सीप र योग्यतासहित आएका छन्। सिभिल इन्जिनियर, आइटी, अटोमोबाइल्स, कम्प्युटर अपरेटर, सेक्युरिटी गार्ड, ड्राइभर, इलेक्ट्रिक, सिलाइ कटाइ, पेन्टर, मेडिकल क्षेत्र, ग्यारेज, कार्यालय सहयोगी, होटल तथा रेस्टुरेन्ट वेटर, ब्यूटिसियन र किचन हेल्पर जस्ता सीप भएका व्यक्तिहरूले आवेदन दिएका छन्। समितिका सदस्यसचिव कुशल गुप्ताका अनुसार सीपअनुसारका रोजगारी सिर्जना गर्न सङ्घले विशेष पहल गर्नेछ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक टंकबहादुर धामीका अनुसार आगामी फागुन १६–१७ गते नेपालगञ्जमा रोजगार मेला आयोजना हुनेछ। ‘रोजगार मेलामा रोजगारदाता र रोजगार खोज्नेहरूलाई प्रत्यक्ष रूपमा जोडेर अवसर सिर्जना गर्ने हाम्रो उद्देश्य हो,’ अध्यक्ष धामीले भने। ‘देशभित्रै रोजगारी सिर्जना गरी विदेश पलायन रोक्न सहयोग गर्नु यसको मुख्य उद्देश्य हो।’

रोजगार मेलाका लागि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ, राप्तीसोनारी, जानकी र नरैनापुर गाउँपालिकाले सहकार्य गरेका छन्। महोत्सवमा हरेक दिन स्थानीय तहका रोजगार शाखा प्रमुख वा प्राविधिकहरू बसेर कार्यक्रमको उद्देश्यबारे जानकारी दिइरहेका छन्। कोहलपुर नगरपालिकाको रिटर्नी स्वयंसेवक वसन्त डाँगीका अनुसार मङ्गलवार र बुधबार मात्र १५ जनाले निवेदन दिएका थिए। आयोजक सङ्घले बेरोजगार युवाहरूलाई निवेदन भरी रोजगार मेलामा सहभागी हुन आह्वान गरेको छ।

प्रतिक्रिया