Listen LIVE

बाल सुधारगृहका ४० बालबन्दी अझै फरार

नेपालगञ्ज : जेनजी आन्दोलनको क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३८ जनालाई पक्राउ गरिएको छ । ४० जना अझै फरार छन् ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दीहरू बाल सुधार गृहबाट भागेका थिए । नौबस्स्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले भागेकामध्ये ४० जना बालबन्दी अहिलेसम्म सम्पर्कमा नआएको बताए । 

उनले भागेकामध्ये ३८ जनालाई पक्राउ गरेर बाल सुधार गृहमा ल्याइसकिएको र अझ ४० जना पक्राउ पर्न बाँकी रहेको बताए । फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधार गृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसिमा दिइएको भए पनि अझसम्म सबै बालबन्दीहरु नफर्किएको नौबस्ता बाल सुधार गृहले जनाएको छ । 

भदौ २४ गते रवि लामिछाने नख्खु जेलबाट निस्केपछि देशभरिका कारागार र बालसुधार गृहबाट अधिकांश कैदीबन्दीहरु भागेका थिए । सोही समयमा नौबस्ता बालसुधार गृहबाट भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय बिनेश घर्ती मगर, बाँकेका २० वर्षीय समिर थापा, दैलेखको २१ वर्षीय भुपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरी पाँच जनाको मृत्यु भएको थियो । दुई जना घाइते भएका थिए ।

प्रतिक्रिया