Listen LIVE

राप्ती नदीमा सुन चाल्ने माझी समुदायको पेशा संंकटमा

यदुराज मिश्र/नेपालगञ्ज : बाँकेका माझी समुदायको पेशा संकटमा परेको छ । जलवायु परिवर्तनका कारण नदीमा पानीको सतह घट्दै गएपछि राप्ती नदीमा सुन चालेर जीविकोपार्जन गर्ने माझी समुदायको पेशा संकटमा परेको हो । पुस्तौँदेखि नदीको बालुवामा सुन चालेर जीवकोपार्जन गर्दै आएका उनीहरू अहिले निराश हुँदै गएका छन् । पेशा संकटमा परेपछि माझी समुदायले विकल्प खोज्न बाध्य भएका छन् । 

बिगत २५ वर्षदेखि सुन चाल्दै आएका खड्कबहादुर खत्री अहिलेको अवस्थामा निराश छन् । नदीमा पानी घटेका कारण पहिलेको जस्तो सुन नभेटिने भएपछि उनी अहिले निराश भएका हुन् । नदीमा पानी घट्यो, बालुवामा सुनको मात्रा पनि कम हुँदै गयो । अहिले गुजारा चलाउन मुस्किल छ,” उनले भने ।

उनको जस्तै अवस्था रामबहादुर माझीको पनि छ । उनी विगत तीन दशकदेखि यही पेशामा संलग्न छन् । उनका अनुसार, जलवायु परिवर्तनले नदीले बहाव परिवर्तन गरेको छ, जसले बालुवाबाट सुन निकाल्ने सम्भावना घटेको छ । ‘धेरै पानी भएपछि पानीको बहावले भारी बालुवा बगाउँथ्यो र सुन झिक्न सजिलो हुन्थ्यो । अहिले पानी नै छैन, बालुवा चाल्दा केही निस्कँदैन,” उनले दुखेसो पोखे ।

यसरी पेशा संकटमा परेपछि धेरै माझी समुदायका व्यक्तिहरू वैकल्पिक पेशा खेज्न थालेका । ५० वर्षीया तुलसीदेवी माझी पहिलेसम्म श्रीमानसँगै सुन चाल्ने गर्थिन् । तर अहिले यो पेशाले परिवार पाल्न नसक्ने भएपछि उनले तरकारी खेती शुरु गरिन् । “नदीमा पानी घट्दै गयो, सुन भेट्नै गाह्रो भयो । परिवारको गुजारा चलाउनकै लागि म अहिले तरकारी खेती गर्दैछु”, उनले भनिन् ।

जलवायु परिवर्तनका कारण नदीको बहाव परिवर्तन हुनुका साथै अनियन्त्रित दोहनले पनि सुन निकाल्ने सम्भावनामा असर गरेको छ । विज्ञहरूका अनुसार, नदीजन्य पदार्थको दोहनले नदीको स्वरूप नै बदलिएको छ, जसले परम्परागत सुन चाल्ने समुदायको भविष्य अन्योलमा पारेको छ ।

सरकारले नदीजन्य पदार्थको उत्खननलाई नियमन गरेपनि माझी समुदायका लागि उपयुक्त वैकल्पिक रोजगारीको व्यवस्था गर्न सकेको छैन । पेशा परिवर्तन गर्ने विकल्प सीमित भएकाले धेरै माझीहरू अझै पनि संकटपूर्ण अवस्थामा जीविकोपार्जन गरिरहेका छन् ।

प्रतिक्रिया