नेपालगञ्ज : नेपाल–भारत सीमा क्षेत्रको जमुनाहा नाका मानव बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ । यस नाकाबाट जोखिमपूर्ण यात्रामा भारततर्फ जाने महिलाहरूको संख्या बढ्दै गएपछि यो नाका अत्यधिक जोखिमपूर्ण बनेको हो ।
मानव बेचबिखनको जोखिममा रहेको नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका जमुनाहाबाट हरेक वर्ष ठूलो संख्यामा महिला तथा बालिकाको उद्धार गरिँदै आएको छ । उद्धार गर्न नसकिएका महिला तथा बालबालिका भने भारत प्रवेश गर्ने गरेको माइती नेपाल नेपालगञ्ज शाखाले जनाएको छ ।
माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले हरेक वर्ष ठूलो संख्यामा जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार गरिए पनि यो क्रम नरोकिएको बताए । उनका अनुसार गत एक वर्षको अवधिमा मात्रै बेचबिखनको जोखिममा रहेका एक हजार ५३८ जनालाई जमुनाहा नाकाबाट उद्धार गरेर फिर्ता पठाइएको छ ।
कोइरालाका अनुसार उद्धार गरिएका एक हजार ५३८ जनामध्ये ३३५ जना महिला तथा बालबालिका बाँके जिल्लाका मात्रै रहेका थिए ।
माइती नेपाल नेपालगञ्जका अनुसार गत वर्ष कोहलपुरका ८० जना, बैजनाथका ६८, नेपालगञ्जका ५६, खजुराका ४७, राप्तीसोनारीका ४५, जानकीका २०, नरैनापुरका १० र डुडुवाका ९ जना महिला तथा बालबालिकालाई जमुनाहा नाकाबाट उद्धार गरेर फिर्ता पठाइएको थियो ।
सोही अवधिमा हराएका महिला तथा बालबालिकाको खोजतलास तथा उद्धारका लागि ८३३ जनाको निवेदन परेकोमा ४३७ जना मात्रै फेला परेका थिए । अन्यको खोजी भइरहेको जनाइएको छ । तीमध्ये बाँके जिल्लाका मात्रै ११९ जना हराएकोमा ११४ जना फेला परेका थिए ।
संयोजक कोइरालाले सामाजिक सञ्जाल, इन्टरनेटको पहुँच तथा आधुनिक प्रविधिको प्रयोगका कारण मानव बेचबिखनका तरिका र मार्ग परिवर्तन हुँदै गएको र त्यसलाई नियन्त्रण गर्न थप चुनौती देखिएको बताए । उनका अनुसार भारतीय सीमासँग जोडिएका पश्चिम नेपालका दुई जिल्ला बाँके र बर्दिया मानव बेचबिखनको उच्च जोखिममा रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार