Listen LIVE

बाँकेस्थित राप्ती नदीमा पानीको सतह घट्यो

नेपालगञ्ज : गत तीनदिन परेको अविरल वर्षाका कारण राप्ती नदीमा सतर्कताको नजिकसम्म पुगेको पानीको सतह घट्दै गएकाले हालका लागि बाँकेमा बाढीको त्रास हटेको छ ।

शनिबार राप्ती नदीको पानीको सतह सतर्कताको विन्दु नजिक ५ मिटर ९१ सेन्टिमिटर पुगेकोमा हाल आएर सो सतह घटेर ३ मिटर ६६ सेन्टिमिटरमा झरेपछि अहिलेलाई बाढीको त्रास हटेको जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

नदीमा पानीको सतह बढ्दै गएपछि राप्तीसोनारी, डुडुवा र नरैनापुरका तटीय क्षेत्रका बासिन्दामा बाढी र डुबानको अत्याधिक त्रास रहेकोमा हाल नदीको सतह घटेपछि उनिहरुको डर पनि हटेको उनले बताए ।

पानीको सतह सतर्कताको विन्दु नजिक पुगेपछि बाँकेको तटिय क्षेत्रका दर्जनौ गाउँ डुवानको उच्च जोखिममा परेका थिए । दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको थियो । नदीमा पानीको सतह बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो ।

पानीको सतह बढ्न थालेपछि अगैयास्थित राप्ती नदीमा बाँधिएको सिक्टा सिँचाइको व्यारेजको ढोकाहरु पनि खोलिएको सूचना अधिकृत ज्ञवालीले बताए ।

तर आइतवार नदीमा पानीको सतह ३.६६ मिटर मात्रै रहेकोले हालका लागि बाढी र डुबानका सबै खतराहरु समाप्त भएको जिल्ला आपातकालीन सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।

सो जानकारी तटीय क्षेत्रका बासिन्दालाई गराएर उनिहरुलाई आआफ्नो नियमित काममा लाग्न आग्रह गरिएको केन्द्रले जनाएको छ । 

राप्ती नदीको सतह घटेर आइतबार दिउँसो ३.६६ मिटर पुगेपछि बाढीको त्रास हटेपनि पूर्व तयारी र उच्च सतकर्ता भने कायमै राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

उनले हालका लागि पानीको सतह घटेर जोखिम टरेपनि अझै जोखिमयुक्त क्षेत्रमा सुरक्षा निकायलाई हाई अलर्टमा तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए ।

सोही बमोजिम स्थानीयलाई पनि अझै केही दिन सचेत रहन आग्रह गरिएको पनि प्रजिअ रिजालले बताए ।

प्रतिक्रिया