Listen LIVE

हत्या आरोपमा रोल्पामा एक जना पक्राउ

रोल्पा : रोल्पामा बन्दुकको कुन्दाले हानेर ७१ वर्षीया वृद्धा सारु रोकाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गएराति रोल्पाको थवाङ गाउँपालिका २ जाजरकोट टोलका ७१ बर्षीया रोकाको राति साढे १२ बजेतिर हत्या गरेको आरोपमा स्थानीय ३५ बर्षीय रामकुमार रोकालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । बन्दुकको कुन्दाले टाउकोमा प्रहार गर्दा  रोकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हत्याको खबर पाए लगत्तै प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र केसीको कमाण्डमा पुगेको ५ जनाको टोलीले आरोपित रामकुमारलाई मदिराले मातेको अवस्थामा घरमै सुतिरहेको बेला नियन्त्रणमा लिएको थियो । बन्दुक घटनास्थलदेखि ७५ मिटर मुन्तिर पातिको झाडीमा फेला पारेको प्रहरीले जानकारी दिएको छ । 

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्ती गाउँवाट प्रहरी निरीक्षक कृष्ण सोनीको कमाण्डमा थप ५ जनाको टोली घटनास्थलमा खटिएको छ । यस बारेमा थप अनुसन्धान सुरु गरेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया