Listen LIVE

नरैनापुरमा सुशासन प्रवर्द्धनका लागि अभिमुखीकरण

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले जनप्रतिनिधि तथा विभिन्न शाखा प्रमुखहरूको क्षमता अभिवृद्धि गर्दै सुशासन र पारदर्शिता प्रवद्र्धन गर्ने उद्देश्यले दुईदिने स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाले सञ्चालन गर्ने योजनाहरू पारदर्शी, उत्तरदायी र समयमै सम्पन्न हुने विश्वासका साथ आयोजना गरिएको कार्यक्रममा सहभागीहरूलाई कार्यसम्पादन मूल्याङ्कन प्रक्रियाबारे व्यवहारिक जानकारी दिइएको थियो ।

गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले जनप्रतिनिधि तथा शाखा प्रमुखलाई लक्षित गरी सञ्चालन गरिएको अभिमुखीकरणले मूल्याङ्कन प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

वडा नं. ४ का अध्यक्ष मनोज शर्माले अभिमुखीकरणले स्थानीय शासनको मूल्याङ्कन प्रक्रिया सहज बनाएको बताउँदै गत वर्षजस्तै यस वर्ष पनि नरैनापुर उत्कृष्ट बन्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे । वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले पनि कार्यक्रमले सुशासन र पारदर्शिता कायम गर्न सहयोग पुग्ने धारणा राखे ।

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, अनलाइन प्रविष्टि प्रणाली तथा विषयगत सूचकहरूबारे विस्तृत जानकारी दिइएको बताउँदै यसले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति अझ सचेत बनाएको बताए । उनका अनुसार अब सबै शाखाले स्वमूल्याङ्कन गरी तोकिएको ढाँचाअनुसार विवरण प्रविष्ट गर्न सक्षम हुनेछन् ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा प्रशिक्षक विष्णु नेपाली, गंगाबहादुर शाही र सुमन धिमालले सहजीकरण गरेका थिए ।

कार्यक्रम गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको हो । उनले कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिँदै सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक गतिविधिबाट प्रभावित नहुन आग्रह गरिन् । साथै, जनमुखी सेवा प्रवाहमा केन्द्रित रहन निर्देशन दिइन् ।

गाउँपालिकाले यस्तो पहलले स्थानीय तहमा सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया