Listen LIVE

राप्ती र बबई नदीमा जलस्तर बढेपछि तयारी अवस्थामा सुरक्षाकर्मी

नेपालगञ्ज : बाँकेको राप्ती र बर्दियाको बबई नदीमा जलस्तर खतराको तहमा पुगेपछि सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको छ । सुरक्षाकर्मीलाई ’हाई एलर्ट’ मा राखिएको हो । जल सतहले खतराको घण्टी बजाउन थालेपछि जोखिमयुक्त ठाउँहरुमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।

भारी वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा जलस्तर खतराको तहमा पुगेकाले जनधनको क्षति हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटिइसकेका छन् । बाँकेको नरैनापुर गाउँपालिकाको भगवानपुर क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी गंगापुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र बहादुर भण्डारीको कमान्डमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापनसहितको टोली परिचलान गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी डुडुवा गाउँपालिका–४ स्थित राप्ती नदीको कम्दी पुल आसपास इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख सई मोहन वलीको नेतृत्वमा सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । राप्ती नदीको जल सतहले खतराको संकेत दिएपछि सशस्त्र प्रहरी बल नम्बर ४२  रिजर्भ गण सम्शेरगन्जमा विपद् व्यवस्थापनसहितको टोलीलाई तयारी हालत राखिएको छ भने उक्त गणबाट राप्ती नदी किनार क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क गराउँदै पैदल गस्ती गरिरहेको बताइएको छ ।

बर्दियामा पनि बबई आसपासका क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । बर्दियामा ठूलो संख्यामा सशस्त्र प्रहरीको विपद् व्यवस्थापनसहितको टोली खटाइएको सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाले जानकारी दिएको छ । निरन्तर झरी परेपछि राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा छ ।

प्रतिक्रिया