Listen LIVE

गर्मीका कारण गुलरियाका विद्यालय बन्द

बर्दिया : बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् ।

केही दिन यतादेखि बर्दिया जिल्लामा अत्याधिक गर्मी बढेका कारण गुलरिया नगरपालिकाले तीन दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार गुलरिया नगरपालिकाका सामुदायिक र संस्थागत गरी ५८ वटा विद्यालय बन्द हुने भएका हुन् ।

केही दिन यतादेखि गर्मी बढ्दै जाँदा विद्यार्थीहरुलाई विद्यालय आवत जावतमा समस्या परेका कारण र अभिभावकहरूले समेत बिदा गराइदिन अनुरोध गरेका कारण तीन दिन बिदा दिइएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए ।

अहिलेका लागि असार २ देखि ४ गतेसम्म बिदा दिएका छौँ । मौसममा परिवर्तन नभए बिदा थप हुने सम्भावना रहेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सतिस यादवले बताए । आइतबार गुलरिया नगरपालिकाका नगर प्रमुख सहितको टोलीले केही विद्यालयको अनुगमनगरे पश्चात् विद्यालय बन्द गर्ने सूचना जारी गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । यतिबेला बर्दियाको तापक्रम ४४ डिग्रीसम्म पुग्ने गरेको छ ।

प्रतिक्रिया