Listen LIVE

कोहलपुरमा तीन दिने बिट पत्रकारिता तालिम शुरु

नेपालगञ्ज : सञ्चारकर्मीहरुको क्षमता अभिबृद्धिका लागि बाँकेको कोहलपुरमा आइतवारदेखि बिट पत्रकारिता तथा पत्रकार आचारसंहिता विषयक तीन दिने तालिमा शुरु भएको छ ।

नेपालगञ् पत्रकार महासंघ बाँकेको आयोजना तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिमको कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले उदघाटन गरेका छन् ।

सो अवसरमा मेयर आचार्यले पत्रकार महासंघसँगको संस्थागत सहकार्यका लागि कोहलपुर नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले आग्रह र पूर्वाग्रहबाट सञ्चारकर्म नगर्न सुझाव दिए । उनले भने, ‘जनप्रतिनिधीहरुलाई खबरदारी गर्नु तपाईहरुको दायित्व हो । त्या आवश्यक छ । तर, आग्रह र पूर्वाग्रहबाट पत्रकारिता गर्नु भयो भने आफै पलायन हुने स्थिती आउन सक्छ । यसतर्फ ख्याल गर्न आग्रह गर्दछु ।’

उनले पत्रकारिता पेशालाई व्यावसायिक बनाउन आग्रह गर्दै स्थानीय सञ्चारकर्मीको प्रोत्साहनका लागि कोहलपुर नगरपालिका प्रतिबद्ध रहेको बताए । कोहलपुर नगरपालिकाभित्र रहेका सञ्चारकर्मी र स्थानीय मिडियाको प्रोत्साहनका लागि सञ्चार नीति बनाउने अन्तिम तयारीमा पालिका रहेको उनले जानकारी दिए ।

तालिमको उदघाटन सत्रमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागर्यांले पछिल्लो समय बिट पत्रकारिताप्रतिको आकर्षण बढ्दै गएको बताए । उनले पत्रकारितालाई ब्यावसायिक बनाउन र पेशागत दक्षतामा बिट पत्रकारिताको ठूलो सम्भावना रहेको औल्याए । उनले आफ्नो पेशागत जीवनमा आचारसंहिताको पूर्ण पालना गर्न सबैलाई अनुरोध गरे ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारितामा अनुशासन जरुरी रहको बताए । कतिपय सवालमा पत्रकारहरुले आफ्नो सीमा रेखा पार गरेको अवस्थाले समस्या सिर्जना गर्ने गरेको भन्दै उनले यो तालिमको माध्यमबाट पेशागत जीवनलाई सहज हुने विश्वास दिलाए । कोहलपुर नगरपालिकाले सञ्चार क्षेत्रलाई प्राथमिकता दिएको भन्दै गिरीले प्रशंसासमेत गरे ।

यस्तै पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव भगतराम थारुले गरेका थिए । तालिमको पहिलो दिन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष चौलागाईंले पत्रकार आचारसंहिता, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले बिट र कान्तिपुरकर्मी रुपा गहतराजले मिडियामा महिला मुद्दाका सवालमा सहजीकरण गरेका छन् ।

प्रतिक्रिया