Listen LIVE

नेपालगञ्जमा महिला उद्यमीका उत्पादनहरुको प्रदर्शनी हुने

नेपालगञ्ज : महिला उद्यमी संघ नेपाल बाँकेले ‘नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी २०८१’ आयोजना गर्ने भएको छ । फागुन ६ देखि १० गतेसम्म नेपालगञ्जस्थित बागेश्वरी मन्दिर पूर्वमा रहेको पार्कमा प्रदर्शनी आयोजना गरिनेछ । संघले आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर प्रदर्शनी तयारीबारे जानकारी गराएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा हुन लागेको प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्व रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट आउने महिला उद्यमीहरुले आफनो उत्पादन प्रदर्शनीमा राख्नेछन् । प्रदर्शनीमा रहने करीब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरुले आफ्नो उत्पादनको बिक्री तथा प्रचारप्रसार गर्नेछन् ।

नवौं संस्करणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यसपटक तीन वटा फरक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको महिला उद्यमी संघ बाँकेका अध्यक्ष साबित्रा बस्नेतले बताइन् । प्रदर्शनीको दौरान फागुन ७ गते महिला उद्यमी उत्प्रेरणा कार्यक्रम गरिनेछ । जहाँ महिला उद्यमीको सम्भावना र चुनौतिका विषयमा सरोकारवाला र विज्ञसँग संवाद गरिनेछ । फागुन ८ गते युवा उद्यमशिलता र स्वरोजगार उत्प्रेरणा कार्यक्रम र फागुन ९ गते सफल महिला उद्यमीहरुको अनुभव आदानप्रदान र सम्मान कार्यक्रम गरिने संघकी प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रेवती सिंहले जानकारी दिइन् ।

प्रदर्शनीस्थलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाङ, स्थानीय उत्पादन बेसार, अचार, मह, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीको तेल, अण्डा लगायतका बस्तुहरु रहनेछन् । 

प्रदर्शनीको अर्को महत्वपुर्ण आकर्षणको रुपमा नेपालगञ्जको परम्परागत तथा रैथाने परिकारहरुलाई प्रवद्र्धन गर्नको लागि स्टलहरु राखिने भएको छ । जहाँ नेपालगन्जको विभिन्न समुदायका महिलाहरुले बनाएका परिकारहरु बिक्रीको लागि राखिनेछ । प्रदर्शनी सम्पन्न गर्न अनुमानित १५ लाख रुपैयाँ बजेट खर्च हुने बताइएको छ । नेपालगञ्ज नगर प्रमुख प्रशान्त विष्टले प्रदर्शनीको उद्घाटन गर्नेछन् ।

प्रतिक्रिया