Listen LIVE

जिविकोपार्जनसँगै वातावरण संरक्षण गर्न व्यावसायिक तालिम

नेपालगञ्ज : बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा बाँके युनेस्को क्लबले सीप विकास तालिम सञ्चालन गरेको छ । 

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत दुबै नगरपालिकामा एकै पटक सीप विकास तालिम शुरु गरिएको क्लबका अध्यक्ष रविकुमार तुलाधरले बताए । 

ठाकुरबाबा नगरपालिकामा तालिमको उदघाटन ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल र उपमेयर बिना कुमारी भट्टराईले गरे । 

तालिमको शुभारम्भ गर्दै ठाकुरबाबा नगरपालिकाका मेयर लम्साल र उपमेयर भट्टराइले तरकारी र अन्य उत्पादनमा अत्याधिक रासायनिक विषादीको प्रयोगले हुने हानिकारक असरलाई ध्यानमा दिएर विषादीरहित उत्पादन गर्नुपर्नेमा जोड दिए । 

उनीहरुले हरित व्यापार प्रवद्र्धनका लागि स्थानीय सरकारले हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

ठाकुरबाबामा बिषादीरहित तरकारी खेती सम्बन्धि र लोकल कुखुरा पालन सम्बन्धि व्यवसायिक तालिम शुरु गरिएको छ । सो तालिम ३९० घण्टाको हुने क्लबले जनाएको छ । 

बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको सो  तालिमको उदघाटन कार्यक्रममा वडाध्यक्षहरु अमिन थारु, कमल चापई र शम्भुप्रसाद थारुले तरकारी खेती र कुखुरापालन जस्ता व्यवसायलाई दिगो बनाउन बजार प्रवद्र्धनको सबैभन्दा बढी महत्व रहेको बताए । 

सोही प्रकारले राजापुर नगरपालिकामा पनि क्लबका अध्यक्ष रविकुमार तुलाधरको अध्यक्षतामा सीप विकास तालिम उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

राजापुरमा बेत बाँसको हस्तकलाको सामग्री बनाउने तथा बिषादीरहित तरकारी खेती सम्बन्धि ३९० घण्टे व्यावसायिक सीप विकास तालिम सञ्चालन गरिएको हो । 

सो कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजेश चौधरी रहेका थिए । 

वडाध्यक्ष चौधरीले यस्ता तालिमहरुबाट रोजगारी सिर्जना गर्नुका साथै  वातावरण संरक्षणमा समेत टेवा पुग्ने हुँदा दोहोरो फाइदा हुने बताए । 

सो अवसरमा वडा सदस्यहरु सुशीला नेपाली र रुपसरा थारुको पनि उपस्थिति रहेको थियो । 

दुबै स्थानमा भएको तालिमको उदघाटन कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली, बोर्ड सदस्य भीम चौधरी, मानसका प्रबन्ध निर्देशक डम्मर भण्डारी, राष्ट्रिय मानस विकास तालिम प्रतिष्ठानका निर्देशक राकेश रोशन धमला, परियोजनाका अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरवाइजरहरू सञ्जिता रिजाल तथा कञ्चन दहितको पनि उपस्थिति रहेको थियो ।  

परियोजनाका अधिकृत राधेकृष्ण थारुका अनुसार तालिममा सहभागि २१ जनाले कीटनाशक रहित तरकारी खेती, बिरुवा रोप्ने, पालनपोषण गर्ने र बजारीकरणमा विशेषज्ञता हासिल गर्नेछन् भने १४ जना प्रशिक्षार्थीले बेत र बाँसको हस्तकलाका सामाग्री निर्माणमा विशेषज्ञता हासिल गर्ने छन् । यसैगरि १५ जना सहभागीले लोकल कुखुरापालनको तालिम लिइरहेका छन् ।

सो तालिमका प्रशिक्षकहरुमा सीता चौधरी, ओमप्रकाश चौधरी र विकास चौधरी लगायत रहेका छन् । उनीहरुले दिगो जीविकोपार्जनका लागि व्यापक सीप विकास सुनिश्चित गर्दै तालिम प्रदान गरिरहेको क्लबले जनाएको छ ।

प्रतिक्रिया